१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


सरकार आफ्नै कारणले ढल्छ : माओवादी केन्द्र


910
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ ।

सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको हो ।

प्रवक्ता सापकोटाले देशमा राम्रा काम गरिरहेका कर्मचारीहरुलाई हटाउने खेल भइरहेको आरोप लगाउनु भयो । उहाँले देशमा असाधारण परिस्थिति बन्दै गएको बताउनुभयो । उहाँले असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीहरुको बीचमा एकरुपता र समझदारी हुन जरुरी रहेको बताउनुभयो । उहाँले सरकार राजनीतिक दलहरु फुटाउने चलखेलमा लागिरहेको आरोप समेत लगाउनुभयो ।

प्रवक्ता सापकोटाले संविधान संशोधन अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताउनुभयो । । राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको तथा लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको आरोप लगाउनुभयो ।

प्रवक्ता सापकोटाले भन्नुभयो, ‘यो देशमा राम्रो काम गरिरहेका छन्, उनीहरुलाई हटाउने खेल भइरहेको छ । असाधारण परिस्थिति देशमा बन्दैछ । त्यसको लागि सबै पार्टीहरुको बीचमा एकरुप समझदारी हुनुपर्ने, राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरु फुटाउने खालको पनि चर्चा चलिरहेको छ । यि सबै कुरालाई, अनि फेरि संविधान संशोधनको कुरा गरेर त्यो त आवरण मात्रै थियो, उहाँहरुलाई सत्तामा जानु थियो । जानका लागि उहाँहरुले संविधान संशोधनको कुरा गर्नुभएको थियो । हामी अब भन्छौँ, संविधान संशोधन गर्ने हो भने अग्रगमनको पक्षमा परिवर्तनको पक्षमा जनताका अधिकारहरु बढाउने पक्षमा गर्नुपर्छ । अरु कुरा त हामी गर्दै गरौँला ।’

राष्ट्रियताको सवाल झनझन पेचिलो, झनझन जटिल भइरहेको बताउँदै प्रवक्ता सापकोटाले भन्नुभयो, ‘लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको छ । जनजीविकाको सवालमा सरकार चुकिरहेको छ । यो सरकार त आफ्नै कारणले जान्छ जान्छ तर फेरि यो हामीले जनतालाई सही ढंगले परिवर्तनका पक्षमा, अग्रगमनका पक्षमा दिशा निर्देश गर्नुपर्छ ।’

प्रवक्ता सापकोटाले जनतालाई सही ढंगले परिवर्तन र अग्रगमनका पक्षमा दिशा निर्देश गर्न जरुरी रहेको बताउनुभयो ।