२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


अर्घाखाँचीको मह उद्योग जीर्ण अवस्थामा


416
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा नमूना मह उद्योग भन्दै स्थापना गरिएको उद्योग सञ्चालनमा नआई जीर्ण अवस्थामा पुगेको छ । राज्य र स्थानीयको लगानी रहेको उद्योग जीर्ण बनेपछि दुवै पक्षको लगानी पनि डुबेको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, ७ को सानागाउँमा स्थापना गरिएको अर्घाखाँची मह उद्योग सञ्चालनमा नआउँदै जीर्ण बनेको हो । बिना अनुसन्धान मह उत्पादनका लागि देशमै दोस्रो नमूना उद्योग भन्दै अर्घाखाँची उद्योग वाणिज्य सङ्घ मार्फत कृषि मन्त्रालयले लगानी गरेको उद्योग जीर्ण भएको हो । २०७२ सालमा उद्योग स्थापनाको काम सम्पन्न भएको यस उद्योगमा एक वर्षसम्म छिमेकी जिल्लाबाट मह ल्याएर प्रशोधनलगायतका काम गरी सञ्चालन गरिएको थियो । तर त्यसपछि उद्योग पुरै बन्द अवस्थामा रहेको उद्योगका अध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो ।

उद्योगमा सरकारको १ करोड ३ लाख र स्थानीयको तर्फबाट ६० लाख गरि कुल १ करोड ६३ लाख खर्च भएको थियो । उद्योगका भवन र मसिनहरु प्रयोगमा नआउँदै जीर्ण बनेका छन् । मह उत्पादन ज्यादै न्युन छ । यो उद्योग यहाँ चलाउन नसकिने सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठको भनाइ छ ।

जिल्लाको धनचौर, धारापानी, जुकेना, जलुके लगायतका क्षेत्रमा मौरीपालक किसान छन् । जिल्लामा पछिल्लो समय अन्य जिल्लाका किसानले मौरी चरनका लागि ल्याउने र लैजाने पनि गरेका छन । मह उद्योगका अध्यक्ष कंडेलले उद्योगको सोही भवनका २ वटा कोठामा च्याउ खेती गर्नुभएको छ । यो उद्योग चलाउनका लागि केन्द्रदेखि स्थानीय तहसम्मका सरकारहरु जिम्मेवार हुनुपर्ने अध्यक्ष कंडेलको भनाइ छ ।

राज्यको लगानी बालुवामा पानी भने जस्तै भएकाले यसको वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित पक्षले तत्काल पहल गर्नु जरुरी छ ।