१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


तराई र पहाडियाले एक साथ मनाउँदै छठ पर्व


26
Shares

सिन्धुली । विगतमा तराईका जिल्लाहरुमा मनाइने छठपर्व पछिल्लो समयमा मध्य तराईमा पर्ने सिन्धुलीमा समेत तराई र पहाडिया मूलका जात जाती मिलेर एक साथ मनाइरहेका छन् ।

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा यसवर्षको छठपर्व तराई र पहाडिया मूलका मानिसहरुले एकै साथ छठ सामग्रीहरुको व्यवस्था गरी श्रद्दा, भक्ति र निष्ठापुर्वक गौमती छठिया घाटमा मनाइरहेका हुन् ।

सदरमुकाम सिन्धुलीमाडी, भिमान, दुधौली, खुर्कोट लगायतका स्थानहरुमा यसवर्षको छठपर्व मनाउन तराई र पहाडिया मूलका मानिसहरुले एकै साथ छठ घाटको निर्माण गरेका थिए । उनीहरुले छठका लागि आवश्यक पर्ने सामग्रीहरु एक साथ मिलेर किनमेल गरी छठिया घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर निराहार व्रत र जाग्राम बसी उदाउँदो सुर्यलाई अर्घ्य दिएर छठ मनाउने तयारी गरेका छन् ।

पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै सूर्यदेवको पूजा आराधना गरी मनाइने छठ पर्वका अवसरमा सिन्धुलीमाडीको गौमती छठीघाट, दुधौली र भिमानमा अवस्थित कमला नदी छठीघाट लगायतका नदी तटीय क्षेत्रमा यस वर्ष हर्ष र उल्लासका साथ छठ पर्व मनाइँदैछ ।