काठमाडौं । छठ पर्वको आज मुख्य दिन । आज बिहीबार षष्ठी तिथिको दिन व्रतालुले नदि, पोखरी आदि जलाशयका किनारमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बस्दछन् ।
भोलिपल्ट बिहान उदाउँदै गरेको सूर्यको पूजा गरि अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थी तिथि (गत मंगलबार) देखि शुरु भएको हो । सूर्यको पूजा तथा व्रत–उपासना गरेमा सन्तान तथा परिवारको सुख, समृद्धि र मनोकामना पूर्ण हुने विश्वास रहेको छ ।
यो पर्व निकै धैर्य, निष्ठा तथा शुद्धताका साथ मनाउनुपर्ने हुन्छ । बुधबार पञ्चमी तिथिको दिन खरना मनाइयो । दिनभर निर्जल व्रत बस्नेहरुले साँझपख खिर पकाएर देवीदेवतालाई चढाएपछि प्रसादका रुपमा खाने गर्दछन् र परिवारका अन्य सदस्यहरुलाई पनि बाँड्ने विधिलाईनै खरना भनिएको हो ।
यसपछि व्रताललेु सप्तमी तिथिको बिहानसम्म अर्थात् शुक्रबार बिहानसम्म व्रत बस्नुपर्ने हुन्छ । आज षष्ठी तिथिको दिन भने नदि वा पोखरीको किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ ।
यसको भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा सूर्यलाई चढाइने ठेकुवा, भुसुवा, केरा, उखु, नरिवल, मिठाइ, पान, सुपारीआदि विशेष प्रसाद हुन् । यी प्रसादलाई माटोका नयाँ भाँडा तथा बाँसको टोकरीमा राखेर चढाउने प्रचलन छ ।
आज तराई मधेशका जिल्लाहरुका साथै काठमाडौं उपत्यकामा पनि छठको रौनक छ । यस अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ ।
काठमाडौं महानगरपालिकाले जनाए अनुसार कमलपोखरी, गौरीघाट, वंशीघाट, धौखेल खोला, कुमारी क्लब, भुवनेश्वरी मन्दिर, बालाजु बाइसधारा र कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको हो । यी स्थानहरु सफा पारेर सजाइएको छ भने सुरक्षा लगायतको व्यवस्था मिलाइएको छ ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् ।
छठको व्रत बसेमा मनोकांक्षा पूर्ण हुने तथा सन्तानका साथै परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्