२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


जनकपुरधाममा छठ पर्वको तयारी सुरु


0
Shares

काठमाडौं । मिथिलाञ्चल लगायत तराइ मधेशमा छठ पर्वको तयारी सुरु भएको छ ।

अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारीक सुख समृद्धिको कामना गर्दै छठ पर्वको तयारी सुरु हुन्छ ।

छठ पर्वका लागि जनकपुरधामका पोखरीहरुलाई सजाउने काम शुरु भईसकेको छ भने बजारमा पूजा सामाग्री किन्नेहरुको चहलपहल बढेको छ । आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, ईनारलगायत जलाशयका किनारमा विशेष रुपले श्रृंगार्ने क्रम जारी छ । जनकपुरधामका ऐतिहासिक पोखरीहरु गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीहरुलाई सजाइँदै छ ।

तिहार सकिएलगत्तै छठको तयारी शुरु भएको गंगासागर छठ पूजा समितिका अध्यक्ष हरिनारायण गुप्ताले बताउनुभयो । विगतमा भन्दा राम्रो व्यवस्थापन र श्रृंगार गरिने भन्दै उहाँले जनकपुरधामका ऐतिहासिक पोखरीहरुमा ११ हजारभन्दा बढी श्रद्धालुलाई पूजाको ब्यवस्था गरिने बताउनुभयो ।

जनकपुरधामका साथै तराई मधेसका गाउँ—गाउँमा रहेका पोखरीहरुलाई समेत छठ पर्वका लागि सरसफाई गर्ने र सजाउने काम भईरहेको छ । चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।