
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारलाई अहिले नै गल्हत्याउने पक्षमा आफूहरु नरहेको बताउनुभएको छ ।
अध्यक्ष दाहालले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको पनि दोहो¥याउनुभयो ।
शनिबार काठमाडौंमा पार्टीद्वारा आयोजित खबरदारी सभामा बोल्दै अध्यक्ष दाहालले सडकबाट सरकार फेर्ने भन्ने कांग्रेस-एमाले नेतृत्वको सरकारलाई परेको भए त्यो भ्रममात्रै हुने पनि बताउनुभयो । ढुक्कसँग सरकार चलाए हुने अध्यक्ष दाहालको भनाई थियो ।
उहाँले कांग्रेस–एमालेलाई बेइमान, भ्रष्ट, विचौलियाहरुको पार्टी भएको आरोप लगाउँदै अब प्रधानमन्त्री, मन्त्री बनाउनका लागि फकाउन आउने पक्षमा नरहेको पनि बताउनुभयो । सरकारलाई बेथिति बढाउन नदिन, भ्रष्टाचारीलाई संरक्षण गर्न नदिन, संविधानको रक्षा गर्दै समृद्धिको पक्षमा काम गराउन आफूहरुले सरकारलाई खवरदारी गरेको जिकिर गर्दै अध्यक्ष दाहालले त्यसमा तलमाथि भए सैह्य नहुने बताउनुभयो ।
अध्यक्ष दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा पनि गर्नुभयो । कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने उहाँको भनाई थियो । अध्यक्ष दाहालले आफ्नो पार्टीले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर कांग्रेस र एमालेलाई जनस्तरबाट सजाय दिन चाहेको पनि बताउनुभयो ।
अध्यक्ष दाहालले माओवादी धारका अन्य राजनीतिक दलहरुसँग एकता गरेर आफनो पार्टीले आगामी निर्वाचनमा जाने तयारी गरेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्