काठमाडौं, भदौ ३१ । चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले ५० लाख रुपैयाँ पाउने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय भएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
प्रतियोगितामा उपविजेता हुने टोलीले रु ३५ लाख पाउनेछन् भने तेस्रो हुनेले रु २५ लाख पाउनेछन् ।
चौथोले रु १५ लाख, पाँचौंले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् ।
प्रतियोगितामा फेयर प्ले टोलीले रु एक लाख पाउने छ । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार दिनेछ भने म्यान अफ दि म्याच घोषित हुने खेलाडीले रु १० हजार प्राप्त गर्नेछन् ।
लिग अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने मिड फिल्डर, डिफेन्डर, फरवार्ड, गोलकिपर र प्रशिक्षकले एक एक थान मोटरसाइकल पाउनेछन् । तीन विभागीयसहित १४ टोली सहभागी उक्त प्रतियोगिता आगामी असोज १३ गतेदेखि पुस महिनासम्म चल्नेछ ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी, थ्री स्टार, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ, फ्रेन्ड्स, सङ्कटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटि) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको लागि क्लबहरुले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने एन्फाले जनाएको छ । जसमा चार विदेशी खेलाडी राख्न पाउने छन् ।
लिग विजेता टोलीले एएफसी एसियन कप फुटबल २०१९ मा सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा उत्कृष्ट घोषित हुने फरवार्ड, डिफेन्डर , मिडफिल्डर, गोलकिपर र प्रशिक्षले एक एक थान बाइक पाउनेछन् । यसपटकको लिगमा म्याच फिक्सिङ रोक्न एन्फाले नयाँ कमिटीसमेत गठन गरेको छ भने सिसी क्यामेराको जडानसमेत गरिने एन्फाले जनाएको छ ।
लिग तयारीको लागि एन्फाले क्लबलाई रु २० लाख उपलब्ध गराउने छ । उक्त प्रतियोगिताको लागि रु पाँच करोड ८० लाख खर्च लाग्ने एन्फाले जनाएको छ । प्रतियोगिताको खेल भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । (रासस)








प्रतिक्रिया दिनुहोस्