२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


एकीकृत समाजवादी एमालेसँग एकीकरण गर्नुपर्छ : नेता मिश्र


2.652k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता वंशिधर मिश्रले पार्टीलाई नेकपा (एमाले)सँग एकीकरण गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेता मिश्रले एमालेसँग पार्टीको एकीकरण गर्नुपर्ने बताउनुभएको हो ।

शनिबार नेता मिश्रले पार्टी फुटको कारणलाई हल गर्दै एकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तत्कालिन पार्टी (एमाले) फुट्दै गर्दा नयाँ पार्टीमा कुनैपनि त्रुटी, कमी, कमजोरी र असन्तुष्टिहरु नहोस् भन्ने आफूहरुको अपेक्षा रहेको भएपनि त्यस्तो हुन नसकेको बताउनुभयो । उहाँले पार्टीको दशौँ महाधिवेशनको म्याण्डेड विपरित मनोनित केन्द्रिय सदस्यहरुले पदाधिकारी र पोलिटव्युरो सदस्य चयन गरिएको भन्दै त्यसमा आफूहरुको असन्तुष्टि रहेको बताउनुभयो ।

नेता मिश्रले पार्टी विधान र महाधिवेशनको म्याण्डेड विपरित पदाधिकारी र पोलिटव्युरो चयन हुनु त्रुटीपूर्ण काम भएकोले सो कुरा सच्चिनुपर्ने बताउनुभयो । पार्टीभित्र दुई पक्ष हाबि भएको भन्दै उहाँले पार्टी संकटमा रहेको उल्लेख गर्नुभयो । नेता मिश्रले पार्टीको औचित्य सकिएकाले नयाँ पार्टी बनाउनुपर्छ भन्ने एउटा पक्ष र सुधार गरेर यही पार्टी बनाउनुपर्छ भन्ने अर्को पक्ष पार्टीभित्र रहेको बताउनुभयो ।

नेता मिश्रले हैसियत विहिन मानिसहरु पदाधिकारी र केन्द्रिय कमिटीमा आउँदा आवश्यक मानिसहरु भने छुटेका बताउनुभयो । पार्टीलाई सुधार गर्नका लागि छलफलहरु पनि भइरहेको उल्लेख गर्दै उहाँले निराश नेताहरुले अलग पार्टी बनाउन सक्ने स्पष्ट पार्नुभयो । उहाँले आफूहरुले सिंगो पार्टीको नै एकता गर्न चाहेको भएपनि पार्टीको शिर्ष नेताहरुका बिचमा कुरा नमिलेको बताउनु भयो ।

नेता मिश्रले सिंगो पार्टीलाई एमालेसँग एकता गराउन नसकिए शीर्ष नेताहरु बाहेकको समूह एमालेमा प्रवेश गर्ने बताउनुभयो ।

पार्टी एकिकरणको लागि राजनैतिक दल सम्बन्धिको अध्यादेश आए सजिलो हुने पनि नेता मिश्रले बताउनुभयो । एकीकृत समाजवादी बन्ने बेला ल्याइएको अध्यादेश आवश्यक देख्नेले अहिले राजनैतिक ध्रुविकरणको लागि ल्याइने अध्यादेश पनि औचित्यपूर्ण हुने नेता मिश्रको तर्क छ । राजनैतिक दल सम्बन्धिको अध्यादेशले अलमलमा परेका धेरै नेता कार्यकर्तालाई सहज बाटो र निर्णय लिन सजिलो हुने बताउनुभयो ।