Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


तलेजु भवानीको मन्दिर आज खुला, दर्शनार्थीको घुइँचो


0
Shares

काठमाडौं । वर्षको एक दिन मात्रै खुल्ने हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु भवानीको दर्शन गर्न आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

तलेजु भवानी मन्दिरको दशैंघरमा आज ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिइन्छ । काठमाडौँ उपत्यका वरिपरिका अन्य शक्ति पीठहरू गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिका स्थान, मैतीदेवी, विजेश्वरी, इन्द्रायणी, सङ्कटा, वज्रवाराही, रक्त काली, बज्रयोगिनी लगायतका मन्दिरहरूमा पनि पूजा आराधना गरी बलि चढाउनेहरूको घुइँचो लागेको छ ।

त्यसै गरी अर्घाखाँचीको सुपा देउराली मन्दिर, मोरङको काली मन्दिर, सप्तरीको कंकालिनी देवीको मन्दिर सप्तरीकै छिन्नमस्ता मन्दिर, बाराको गढीमाई मन्दिर, पर्साको बिर्ता माई, गहवा माई, केहुनियास्थित विन्दवासिनी माई, अछामको सान्नीकोट मन्दिर लगायत नेपालका शक्ति पीठहरूमा विशेष मेला लागेको छ ।

यस्तै बनेपाको चण्डेश्वरी, काभ्रेको पलान्चोक भगवती, गोरखाको मनकामना, जनकपुरको राजदेवी, डडेलधुराको उग्र तारा लगायतका मन्दिरहरूमा पनि भगवतीको पूजा गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ गरिँदैछ ।