काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले सवारी चालक अनुमति पत्र दिन नसक्ने स्थिति लज्जास्पद भएको बताउनुभएको छ ।
शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १०४ वटा मोबाइल फोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
मन्त्री दाहालले नेपाल सरकारले एउटा सवारी चालक अनुमति पत्र पनि दिन नसक्ने स्थिति बन्नु गम्भीर कुरा भएको उल्लेख गर्नुभयो । उहाँले ट्रायल दिएर राजश्व तिरिसक्दा पनि चालक अनुमति पत्र नपाउनु गम्भीर रहेको बताउनुभयो । उहाँले ट्रायल पास गरेको एक हप्तादेखि १५ दिन भित्र पाइसक्नुपर्ने कुरा दुई वर्षसम्म नपाउनु दुःखद् भएको बताउनुभयो । यो समस्या अविलम्व समाधान गर्नुपर्ने पक्षमा आफूहरु रहेको बताउनुभयो ।
मन्त्री दाहालले संघ सरकारबाट २२ लाख स्मार्ट लाइसेन्स दिनुपर्ने दायित्व बाँकी रहेकाले प्रदेशहसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो । उहाँले प्रदेशले दिने भए मिति तोकेर दिन शुरु गर्न आग्रह गर्दै प्रदेशबाट नसके संघ सरकारले नै दिने बताउनुभयो । उहाँले आफूले पनि दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको गुनासो सुनाउनुभयो ।
राष्ट्रिय परिचय पत्र र नागरिक एप दुवैमा क्युआर कोर्ड राखे आधिकारिक मान्न सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्