काठमाडौं । बलात्कार मुद्दामा फसाई दिने भन्दै एक जना व्यापारीलाई प्रहरी हिरासतमा राखेर ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरले इटहरीकी भीमादेवी थापालाई पक्राउ गरेको हो । पीडितलाई थापाको खातामा २० लाख रुपैयाँ जम्मा गर्न लगाइएको अनुसन्धानबाट खुलेपछी उनलाई इटहरीबाटै पक्राउ गरी ललितपुर ल्याइएको छ ।
यसअघि सो प्रकरणमा ताज इस्लाम र सुष्मा विक पक्राउ परिसकेका छन् । यसमा प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाहीमाथि समेत मिलेमतोको आरोपमा अनुसन्धान भइरहेको छ । गत ७ असोजमा इटहरीका व्यापारीलाई भैँसेपाटी प्रभागमा थुनिएको र थुनामा राखेपछि बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरीकै अगाडि बार्गेनिङ गरी ३० लाखमा सहमति गरेर छाडिएको थियो ।
जिल्ला प्रहरी परिसर, ललितपुरले डिएसपी नरहरि अधिकारीको नेतृत्वमा सो घटनाको विषयमा समिति गठन गरी प्रहरीको भूमिकाको विषयमा छानबिन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्