२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024


डुंगा नहुँदा उद्धार गर्न धेरै दुःख भयो, पाँच वटा डुंगा किन्छौं : मेयर महर्जन


2.522k
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले पाँच वटा डुंगा किन्ने भएको छ ।

सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री र खानेपानीमन्त्रीसँगको छलफलका क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो कुरा बताउनुभएको हो ।

मेयर महर्जनले हालैको बाढी र डुबानमा डुंगा नहुँदा धेरैको उद्धारमा समस्या परेको भन्दै अब महानगरपालिकाले ५ वटासम्म डुंगा किनेर राख्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टिको सम्भावना कुनैपनि बेलामा रहनसक्ने भन्दै आगामी दिनमा उद्धार र राहत कार्यमा समस्या हुन नदिन डुंगा किनेर राख्ने जानकारी गराउनुभयो ।

मेयर महर्जनले विपद्पछि स्वास्थ्यजन्य रोगहरुको समस्या हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न शुद्ध पानीको परिपूर्ति अपरिहार्य रहेको बताउनुभयो । उहाँले पियुस र अन्य ट्याब्लेटहरु मात्रै शुद्ध पानीको वितरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बाढीका कारण वागमतीमा धेरै जनावरहरु बगेको र चोभारमा अड्किएकाले त्यहीँ खाल्डो खनेर व्यवस्थापन गर्न पहल गरिरहेको बताउनुभयो । विपद्जन्य घटनामा राहत र उद्धारका लागि वडाअध्यक्षलाई पूरा अधिकार दिएको जानकारी गराउनुभयो ।

मेयर महर्जनले नगरवासीको समस्या समाधानमा महानगरपालिका लागिपरेको बताउनुभयो । विपद्का घटनाहरुको समस्या समाधान गर्न बजेटको अभाव भए वडास्तरीय विकास योजना कट्टा गर्न वडालाई आग्रह गरिसकेको बताउनुभयो ।