Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


बाढीपहिरो पीडितलाई ५० लाख सहयोग गर्ने काँग्रेसको निर्णय


0
Shares

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विपद् पीडितको सहायतार्थ तत्कालका लागि ५० लाख रुपियाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

आज सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि काँग्रेसलले जारी गरेको प्रेस विज्ञप्तिमा ‘‘सङ्कटको समयमा सबै एकढिक्का रहेर उद्धार र राहतमा समर्पित हुन सबैले तन, मन, धनले सहयोग गर्न जरुरी स्थिति दृष्टिगत गरी नेपाली काँग्रेसका सङ्घीय सांसदहरूको १५ दिनको पारिश्रमिक समेत गरी नेपाली काँग्रेसका तर्फबाट कूल रु. ५०,००,०००।– (पचास लाख) सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय यो बैठक गर्दछ ।’’ उल्लेख गरिएको छ ।

साथै बैठकले समसामयिक विषयमा १५ वटा निर्णय गरेको जनाइएको छ । लगातारको वर्षाले उत्पन्न भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कार्यसम्पादन समितिको बैठकले दिवङ्गतहरूको आत्माको शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

बैठकले बेपत्ताहरूको खोजीका लागि तीव्र ढङ्गले प्रयास गर्न सरकारको ध्यानाकर्षण गराउँदै, सबै घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध गर्न माग समेत गरेको छ ।

यस्तै पार्टीको पूर्व निर्धारित कार्यक्रम ‘१०० दिने विशेष अभियान’ कोजाग्रत पूर्णिमा (असोज ३० गते)सम्म स्थगित गर्ने निर्णय गरेको पनि जनाइएको छ ।