
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशमा विदेशी शक्ति केन्द्रहरुको चलखेल बढेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले देशमा विदेशी शक्तिकेन्द्रहरुको चलखेल बढ्दै गएको बताउनुभएको हो ।
अध्यक्ष दाहालले संसारभरको वर्तमान राजनीतिक परिस्थिति हेर्दा नेपाल भुराजनीतिको इपिसेन्टर बन्ने अवस्था रहेको बताउनुभयो । उहाँले नेपालको राष्ट्रिय स्वाधिनतामाथि दबाब र हस्तक्षेपहरु बढ्दै गएको पनि बताउनुभयो । प्रतिक्रियावादी शक्तिहरु लोकतन्त्र र संविधानको मूल्य, मान्यतामाथि प्रहार गर्ने गरी अगाडी बढिरहेका उहाँको भनाई छ ।
अध्यक्ष दाहालले राष्ट्रिय स्वाधिनताको रक्षा वामपन्थी र कम्युनिस्ट शक्तिले मात्रै गर्नसक्ने भन्दै यि शक्तिलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भ्रष्टाचारको विरुद्ध महाअभियान छेडेकै कारण आफू नेतृत्वको सरकार ढलेको बताउनुभयो । उहाँले आन्दोलनको बलमा केही महिनाभित्रैमा परिस्थिति उल्ट्याउन सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले वामपन्थी एकताको सन्दर्भमा छिट्टै नै नयाँ खबर सुन्न पाइने बताउनुभयो । उहाँले सके सहमतीमा र नसके प्रक्रियामा गएर नेतृत्व चयन गर्न विद्यार्थी नेताहरुलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्