केके मानन्धर
काठमाडौं । किंवदन्तीलाई पत्याउने हो भने इन्द्रजात्रासँग स्वर्गलोकका महाराज इन्द्रको प्रत्यक्ष सम्बन्ध जोडिएको छ । स्वर्गलोकबाट मर्त्यलोकमा पुगेर फूल चोरेको, चोरलाई समातेर बाँधेको, सेतो हात्ती (ऐरावत किसि)सहित फूल चोरेका इन्द्रलाई खोज्न इन्द्रकी आमा भौंतारिएको, फूल चोरलाई सजाय दिन बाँधेकै ठाउँमा पाताल लोकबाट मूपात्र आएको जस्ता सबैसबै सन्दर्भ काठमाडौं र भक्तपुर जिल्लाका विभिन्न ठाउँमा मनाइने इन्द्रजात्रामा देख्न पाइन्छ ।
आठदिन मनाइने इन्द्रजात्राको बखत टोलटोलमा काठको खम्बामा यमद्यः उभ्याइन्छ । यमद्यः नै इन्द्र महाराज रहेको एकथरीको बुझाइ छ । नेपाल संवत् तिथि बमोजिम प्रत्येक वर्ष ञलाथ्व पुन्हि÷पूर्णिमामा मनाइने यमद्यः जात्राबाट येँयाः पुन्हि, येन्या पुन्हि, यल पुन्हि, यलचा पुन्हि हुनपुगेको बुझ्न गाह्रो छैन । येँको अर्थ काठमाडौं र याःको अर्थ जात्रा भएको सन्दर्भसँग अगाडिको तर्क बाझिन सक्छ । इन्द्रजात्रालाई काठमाडौं उपत्यकाका तीन शहर, नजिकको जिल्ला काभ्रे र दोलखामा पनि मनाउँछन् । अहिले इन्द्रजात्रा अन्तर्राष्ट्रियकरण भइसकेको छ ।
तर,
इन्द्रजात्रामा यमद्यः अर्थात् इन्द्रको मात्र प्रसङ्ग जोडेर वर्णन गर्दा काठमाडौं उपत्यकाको प्रसिद्ध इन्द्रजात्राको महिमा पूर्ण नहुन सक्छ । किनभने इन्द्रजात्रामा कुमारी, गणेश, लाखे, देवी तथा भैरवको पनि उत्तिकै प्रसङ्ग जोडिन्छ । रह्यो भैरवको कुरो,
११ विभिन्न ठाउँमा एघारै थरीका भैरव अवस्थित छन् । ती मध्ये श्वेत भैरव, बाघभैरव, पचली भैरव, कालभैरव, आकाश भैरव, आनन्द भैरव, वटुक भैरव, त्याङ्ग्रा भैरव, ह्यंग्रीव भैरव, अष्ट महाभैरव तथा बाका देय् भैरव । तीमध्ये अधिकांश भैरवको स्वरूपमा टाउको मात्र रहेको छ । अझ भनौं, इन्द्रजात्राको बखत वंगः (इन्द्रचोक) मा प्रदर्शन गरिने आकाश भैरव, बसन्तपुरको हनुमानढोका दरबार अगाडिको श्वेत भैरव (जहाँ हाथु हायेकेगु÷जाँडलाई घ्याम्पोसँग पाइपमा जोडेर खुवाइन्छ) र वंतु टोलको बाका देय् भैरव (बाका देय् आजु)को विशाल स्वरूपको टाउको मात्र पाउँछौं ।
अब,
१) आकाश भैरवलाई नेपाल वायु सेवा निगमले आफ्नो विमान कम्पनीको लोगो नै बनाएको छ । कम्पनीको लोगो आकाश भैरव बनाएकै कारणले विमानमा बलीपूजा हुन्छ ।
२) इन्द्रजात्रामा विभिन्न ठाउँमा प्रदर्शन गरिने भैरवलाई कतिले किराँती राजा यलम्बर भनेका छन् । त्यस्तै धेरैले बर्बरिक भनेका छन् ।
३) इन्द्रजात्राकै बखत भैरवको टाउको मात्रको स्वरूप शंखरापुर (साँखु÷सक्व), मध्यपुर, कीर्तिपुर लगायतको ठाउँमा प्रदर्शन गरिन्छ ।
४) आध्यात्मिक दृष्टिले भैरवलाई धेरैले भगवान, थोरैले दानव (पिचास) र बाँकीले मानवको रूपमा बुझ्छन् । कतिले देवादिदेव महादेवकै उग्र रूप भैरव हो भन्छन् । त्यहि भएर हामी वरपर धूपको बास्ना आउँदा देवता भ्रमण गरेको र मसान बास्ना आउँदा कि पिचास कि त भैरवको भ्रमण भएको रूपमा बुझ्छौं ।
यहाँ,
स्कन्दपुराणमा उल्लेख भएको बर्बरिक र इन्द्रजात्रामा प्रदर्शन गरिने भैरवको किंवदन्ती उस्ताउस्तै देखिन्छ ।
बर्बरिक को हुन् ?
महाभारतको युद्ध लड्न तयार भएका साहसिक योद्धा बर्बरिक हुन् । उनी पाँच पाण्डवका माइला भाइ भिमसेनका नाती एवम् घटोटकचका छोरा थिए । बाल्यकालदेखि नै बलवान एवम् बुद्धिमान बर्बरिकको लालनपालन एवम् शिक्षादीक्षाको अभिभारा उनकी आमा मौरवी (अहिलवती) तथा हजुरआमा हिडिम्बाले गरेको पाइन्छ । हिडिम्बा भिमसेनकी श्रीमती हुन् ।
भैरवको टाउको मात्र हुनुको रहस्य ?
आकाश भैरव स्वयम् किराँती राजा यलम्बर हुन् । यलम्बर र बर्बरिक एउटै भन्नेहरू पनि छन् । पौराणिक कथा अनुसार यलम्बरले पूर्वमा तिस्ता नदी र पश्चिममा त्रिशुलीसम्म फैलिएको देश बनाएको थियो । उनले तान्त्रिक पूजाद्वारा शक्ति प्राप्त गरेको विश्वास गरिन्छ । महाभारतको युद्धमा पराजित हुने पक्षलाई सहयोग गर्न उनी युद्धको मैदानमा होमिन गएका थिए । जब भगवान श्रीकृष्णले यो कुरा थाहा पाए, उनले यलम्बरको क्षमता परीक्षण गरे । श्रीकृष्णको परीक्षामा उत्तीर्ण भएका यलम्बरले कौरव पक्षलाई साथ दिने सम्भावना भएपछि छल गरेर टाउको छेदन गरेको उल्लेख छ । सोही टाउको आकाशबाट काठमाडौं आइपुगेको मानिन्छ । त्यसैले यलम्बरलाई बर्बरिक वा भैरवको रूपमा बुझेको हुनाले इन्द्रजात्राको बखत प्रदर्शन गरिने भैरवको टाउको मात्र हुने गरेको छ । आकाश मार्ग भएर काठमाडौं आएको भैरव भएकोले आकाश भैरव नाम दिइएको एकथरीको भनाइ छ । आकाश भैरवलाई रैथाने ज्यापु समुदायले इन्द्रजात्रामा प्रदर्शन गर्छन् ।
त्यस्तै,
इन्द्रजात्राकै बखत इन्द्रचोक भन्दा अलिकभित्रको टोल वंतुमा मानन्धर समुदायले बाका भैरव प्रदर्शन गर्छन् । उहिले बाका भैरवले तत्कालीन येँ देश (काठमाडौं)को आधा भूभाग जितेका थिए । बछि र बाखा भैरव शब्द अपभ्रंस भएर बाका भैरव हुनपुगेको भनिन्छ । बछिको अर्थ स्थानिय भाषामा आधा भन्ने हुन्छ । यो आधारले उहिले आधा देश जितेका भैरव भएकोले बाका भैरव भनिएको हो । परम्पराकै आधारमा इन्द्रजात्राको एकदिन अगाडि बाका भैरव प्रर्दशन गरेर जात्रा सकिएको भोलीपल्ट भित्र्याउने चलन रहेको छ । आकाश भैरव र बाका भैरवलाई दाजुभाइको रूपमा उल्लेख गरिएको छ ।
आजु द्यःको अर्थ के हो ?
आकाश भैरवलाई ज्यापु समुदाय (महर्जन र डंगोल)ले आजु द्यःको रूपमा पुज्छन् । बाका भैरवलाई साय्मि समुदाय (मानन्धर)ले आजु द्यः मान्छन् । आजुको अर्थ नेपालभाषामा बाजेपूर्खा र द्यःको अर्थ देवता भन्ने हुन्छ । त्यसो भएर आकाश भैरव र बाका भैरवलाई बाजेपूर्खा मान्नेहरूले आजको दिनसम्म पनि इन्द्रजात्रामा टाउको मात्र स्वरूपको भैरव प्रदर्शन गर्ने जिम्मेवारी पाएका छन् ।
(नोटः कुमारीसँग शाक्य समुदायको, दसअवतार नाच र बाजागाजासँग खड्गी समुदायको, हलचोक भैरवसँग पुतुवार, मजिपाः लाखेसँग रंजितकार र अन्य थुप्रै नाचसँग सोही बमोजिमका समुदायको भूमिका रहेको छ । समावेशी ढंगले सञ्चालन हुने इन्द्रजात्राको पृथक महत्त्व छ ।)
प्रतिक्रिया दिनुहोस्