१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


जनप्रतिनिधिकै घरमा स्थानीय सरकार


0
Shares

जाजरकोट । यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् ।

आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ ।

जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गर्दै आएको वर्ष दिन बित्यो ।

उता लिम्सामा सम्पर्क कार्यालय भए पनि सबै काम सदरमुकामबाटै हुने गरेको छ ।

गाउँपालिकाका लेखापाल राजबहादुर सिंहको घरमा एक वर्षअघि देखि कार्यालय सञ्चालन हुँदै आएको छ ।

त्यस्तै कुशेगाउँपालिकाको कार्यालय पनि सदरमुकाममै छ । यो गाउँपालिकाको काम पनि सदरमुकाममै हुने गरेको छ ।

कुशेगाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीको सदरमुकामको घरमा कार्यालय सञ्चालन हुँदै आएको हो ।

गाउँमा पनि सम्पर्क कार्यालय स्थापना गरी कहिलेकाहीँ काम हुने गरेको छ ।

सदरमुकाम र गाउँमा गरी बारेकोट र कुशेगाउँपालिकाले डबल भाडा तिर्दै आएका छन् ।

सदरमुकाम खलङ्गामा भेरी नगरपालिकाको आफ्नै भवन बन्दै छ ।

भवन नबन्दासम्म भेरी ज्ञानोदय क्याम्पसको भवन भाडामा लिएर काम सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।

गाउँमै कार्यालय सञ्चालन गरी भाडाको भवनमा बस्दै आएको नलगाडले पनि वडादेखि नगरपालिका कार्यालयसम्मको भाडा तिर्दै आएको छ ।

नलगाड नपा–८ स्थित मन्मैमा साबिकको खगेनकोट गाविसको भवन छँदाछँदै वडाध्यक्ष गोविन्द शाहीको मनोमानीका कारण भाडामा कार्यालय राख्नु परेको कार्यपालिका सदस्य नरबहादुर विकले बताए ।

शिवालय गाउँपालिकाले घर भाडाबापत मासिक रु ५५ हजार भुक्तानी गर्दै आएको छ ।

छेडागाड नगरपालिकाले पनि गाउँमा रहेको कार्यालय र सदरमुकाममा रहेको कार्यालय गरी दोहोरो भाडा तिरेर दैनिक काम गर्दै आएको छ ।

सदरमुकाममै घर भएका जनप्रतिनिधिले समेत आवासको सुविधा भन्दै रकम लिने गरेका छन् ।

यहाँका सात स्थानीय तहले गत आवमा रु ५० लाख घर भाडामा खर्चेको तथ्याङ्क रहेको छ । रासस