१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


कृषि क्षेत्रका समस्या छिटै समाधान गर्छौं : कृषिमन्त्री अधिकारी


0
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसान र कृषि मन्त्रालयबीचको दूरी कम गर्नेगरी काम गरिरहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा बल्खु कृषि तथा तरकारी बजारको १३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।

कृषिमन्त्री अधिकारीले कृषि क्षेत्र र किसानका बीचमा धेरै समस्या रहेको भएपनि किसान र मन्त्रालयबीच समन्वय नहुँदा समस्या समाधान हुन नसकेको बताउनुभयो । उहाँले किसान र मन्त्रालयबीच समन्वय र सम्पर्क नजिक बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

मन्त्री अधिकारीले किसानका समस्या सिधै मन्त्रालयसँग जोडिनु पर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले कृषिमा धेरै किसिमका समस्याहरु रहेको तर किसान र मन्त्रालय तथा कृषि मन्त्रालय अन्तरर्गतका निकायहरुबीच भेटघाट हुने नगरेको स्वीकार गर्नुभयो ।

मन्त्री अधिकारीले देशभरका किसानको लागि कृषि मन्त्रालय रहेको भन्दै सरकार सच्चा किसानको बीचमा पुग्न सक्नुपर्ने बताउनु भयो । उहाँले मुलुकमा जीविकोपार्जन, विहान बेलुका दुई छाक टार्ने र ठूलो परिणाम व्यवसायिक उत्पादन गर्ने किसान गरी तीन प्रकारका किसानहरु रहेको बताउनुभयो । उहाँले किसान र मन्त्रालयबीचको दूरी नजिक बनाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।

मन्त्री अधिकारीले सरकारले उत्पादनमा जोड दिन नसके र समयमा मल बीउको व्यवस्थापन गर्न नसके भने आयातमा निर्भर बन्नुपर्ने अवस्था आउने बताउनुभयो ।