२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


गौतमबुद्ध विमानस्थलको निर्माणकार्य ठप्प, प्राधिकरणका महानिर्देशकको राजीनामा माग


0
Shares

दीपक घिमिरे (इमेज)

भैरहवा, असार ६ । राष्ट्रिय गौरवको आयोजना भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोकिएको तेस्रो दिनसम्म पनि खुलाउने पहल हुन सकेको छैन ।

विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयले तेस्रो दिन पनि आन्दोलन जारी राख्दै निर्माणकार्य पूर्णरुपमा ठप्प पारेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जाको रकम प्राधिकरणमै अड्काएर राखेकाले मुआब्जा वितरणमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।

एक महिनाअघि नै मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयबाट ५ अर्ब रुपैयाँ रकम निकासा भइसके पनि प्राधिकरणका महानिर्देशक गौतमले उक्त रकम वितरणका लागि विमानस्थल आयोजनालाई पठाउनुको साटो अड्काएर राख्दा मुआब्जा नपाएको पीडितको गुनासो छ ।

गौतमले भने असार महिनाभित्रै निकासा भएको ५ अर्ब रुपैयाँ वितरण गरिने दाबी गरे पनि मुआब्जा नपाउँदा स्थानीय आक्रोशित भएका हुन् । पीडितहरुले महानिर्देशक गौतमको राजीनामा माग गरेका छन् ।

आन्दोलनको नेतृत्व गरिरहेका प्रदेश नम्बर–५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले नागरिक उड्ड्यन प्राधिकरणले आन्दोलनलाई हल्कारुपमा लिएकाले थप कडा आन्दोलन गर्ने चेतावनी दिए ।

उनले अब आफूहरुको मुआब्जा वितरणमात्र माग नभइ महानिर्देशक गौतमको राजीनामासमेत आन्दोलनको ‘बटमलाइन’ हुने बताए ।

पीडितहरुको आन्दोलनलाई राजनीतिक दलले पनि समर्थन गरेका छन् । संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले मुआब्जा नपाएका कारण किसानहरु निकै समस्यामा परेको बताए ।