२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


सांसदहरु भन्छन् – सुवाष नेम्वाङको अभाव खड्कीरहेको छ


208
Shares

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले संसदमा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङको व्यक्तित्व र नेतृत्वको अभाव खडकिएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा संविधान सभा अध्यक्ष तथा एमालेका तत्कालीन उपाध्यक्ष समेत रहनुभएका नेम्वाङको व्यक्तित्व र नेतृत्वको आज संसदमा पनि अभाव भएको उनीहरुले महशुस गरेका हुन् ।

स्वर्गीय नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा सांसदहरुले उहाँले संविधान निर्माण र नेपाल संसदीय व्यवस्थाको मूल्य र मान्यतालाई स्थापित गराउन खेल्ने भएको नेतृत्वदायी र सन्तुलित भुमिकाको नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख समेत गरेका छन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले स्वर्गीय नेम्वाङले संविधान सभाको अध्यक्षको रुपमा संविधान निर्माण, सभामुखको रुपमा संसद र संसदीय व्यवस्थाको उन्नयनमा खेल्नुभएको भुमिका नेपाली जनताले सदा स्मरण गरिरहने बताउनुभयो । उहाँले नेम्वाङलाई संसदलाई संसदलाई रचनात्मक र सृजनात्मक ढंगले अघि बढाउन नेतृत्वदायी भुमिका खेलेको पनि स्मरण गर्नुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले स्वर्गीय नेम्वाङको सन्तुलित व्यक्तित्वले कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यलाई अघि बढाउन दिएको योगदानको पनि स्मरण गराउनुभयो । उहाँले नेम्वाङ संविधान निर्माण र संसदमा गर्नुभएको नेतृत्वको जति प्रशंशा गरेपनि कमी हुने बताउनुभयो ।

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले संसदमा नेम्वाङको नेतृत्व र व्यक्तित्वको आज पनि अभाव महशुस भईरहेको बताउनुभयो । संसदमा हाल तिक्तता बढ्दै गईरहेको उल्लेख गर्दै यस्तो बेलामा आफूलाई संसदमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने नेम्वाङको याद आईरहेको उहाँको भनाई थियो । सांसद झाले नेताहरुलाई खुशी पार्न दिइने अभिव्यक्तिले संसदमा समस्या खडा गर्ने गरेको उल्लेख गर्दै यस्तो बेलामा साझा र सन्तुलित भुमिका खेल्नसक्ने नेम्वाङको स्मरण सबैमा हुने गरेको उल्लेख गर्नुभयो ।

सांसदहरुले स्वर्गीय नेम्वाङले संविधान निर्माणमा र संसदलाई प्रभावकारी बनाउने विषयमा दिनुभएको योगदान अतुलनीय रहेको पनि बताएका थिए ।