२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


चाडपर्वमा सडक यातायातमा समस्या हुन नदिने गरी सडक पूर्वाधार मर्मतको काम हुँदैछ : भौतिकमन्त्री


117
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले दशैँ लगायतका चाडपर्वमा यातायात आवागमनमा समस्या नहुने गरी सडक पूर्वाधार मर्मतको काम शुरु गरेको बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभा वैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

मन्त्री दाहालले दशैको बेलामा सडक यातायातमा हुने चापलाई मध्यनजर राखेर दुई तरिकाबाट सरकारले बाटो मर्मत गरिरहेको बताउनुभयो । उहाँले नियमति रुपले बनाउने सडक पूर्वाधरसँगै वर्षातको कारणले सडकमा भएका खाल्डाखुल्डी पुर्नेगरी सडक मर्मतको काम अघि बढेका उल्लेख गर्नुभयो ।

मन्त्री दाहालले संघीय सरकारको मातहतमा रहेका राष्ट्रिय र रणनीतिक सडक मर्मतका लागि ठेक्का लागेर काम भइरहेको जानकारी दिनुभयो । उहाँले संघीय सरकारको मातहतमा रहेका देशभरमा सडकहरुमध्ये ५ हजार किलोमिटर सडक मर्मत अघि बढेको उल्लेख गर्नुभयो ।

मन्त्री दाहालले निर्माणधिन बाटोमा पनि सहज आवागमन गराउने कुरामा सरकार गम्भिर भएर लागेको जानकारी दिनुभयो । उहाँले निर्माणधिन सडकमा सहज यातायात आवागमनको लागि निर्माण कम्पनीको जिम्मेवारी भएकाले निर्माण कम्पनीलाई कडाइका साथ निर्देशन दिएको बताउनुभयो । उहाँले सडक सुरक्षा ऐन अहिलेसम्म नबनेकाले कानून बनाउन सरकार लागेको बताउनुभयो ।

मन्त्री दाहालले रुग्ण आयोजनाहरुको काम अघि बढाउनको लागि सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाएर काम भइरहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायहरुसँग अध्ययन गर्ने भनि सरकार र निर्माण व्यवसायी महासंघले निकालेको निष्कर्षका आधारमा रुग्ण आयोजना अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो ।