काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले सरकारले वरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गरेका कारण नेपाल सरकारका सचिवहरु आतंकित भएका बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद तामाङले सरकारको मुख्य काम थिति बसाल्ने र कानुनको कार्यान्वयन गर्ने भएपनि त्यसो हुन नसकेको बताउनुभयो । उहाँले सरकारले बरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गरेका कारण नेपाल सरकारका सचिवहरु आतंकित हुनु परेको बताउनुभयो ।
सांसद तामाङले अन्य नियुक्तिहरुमा पनि वरियताक्रम मिच्ने काम भएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको तहबाट निरंकुशता लाद्ने खालका निर्णयहरु भइराखेका बताउनुभयो । उहाँले मुलुकमा सबैतिर बेथिति र अराजकता बढेको बताउनुभयो ।
सांसद तामाङले जनताको अधिकारलाई कुण्ठित गरेर ०४७ सालको संविधानतिर अग्रसर हुनेगरी संविधान संशोधन गर्न माओवादी केन्द्रले नदिने बताउनुभयो । उहाँले कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली राख्नेगरी संशोधन हुन्छ भने आफूहरु तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्