Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लियो


0
Shares

काठमाडौं । कार्डिफ सिटीलाई हराउँदै चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा कार्डिफलाई ४–१ ले हराएपछि चेल्सीले अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुललाई गोल अन्तरमा पछि पारेको हो ।

गएरातिको खेलमा चेल्सीलाई विजयी गराउन एडिन हाजार्डले ह्याट्रिक गर्दा विलियनले एक गोल थपे ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई २–१ ले हरायो ।

लिभरपुललाई विजयी गराउन जर्जिनियो वहाल्दुम र रोबर्टो फर्मीनोले एक एक गोल गरे । पराजित टोली टोटनह्यामका लागि एरिक लामेलाले एक गोल फर्काए ।

गएराति भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई २–१ ले हरायो । यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको वाट्फोर्डको यो पहिलो हार हो ।

गएराति नै भएको अर्को खेलमा आर्सनलले न्यूकासल युनाईटेडलाई २–१ ले पराजित गर्दा म्यान्चेस्टर सिटीले फुल्हमलाई ३–० ले हरायो ।

प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा बर्नमाउथले लेष्टर सिटीलाई ४–२ ले हराउँदा क्रिष्टल प्यालेसले हडर्सफिल्ड टाउनलाई १–० ले पाखा लगायो ।

गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ५ खेलबाट १५ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।

समान १५ अंक जोडेको लिभरपुल गोलअन्तरको आधारमा दोस्रो स्थानमा झर्दा तेस्रो स्थानको म्यान्चेस्टर सिटीको १३ अंक छ ।