१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


संकटग्रस्त मूलधारका सञ्चारगृह जोगाउन सञ्चारमन्त्रीको ध्यानाकर्षण


234
Shares

काठमाडौं । संकटग्रस्त मूलधारका सञ्चारमाध्यम जोगाउन सञ्चारमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

मूलधारका मिडिया सञ्चालकहरुको संगठन मिडिया अलायन्स नेपालले आइतबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटे समस्या अवगत गराएको हो ।

अलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले आर्थिक मन्दी र सरकारी नीतिले आम सञ्चार माध्यम लामो समयदेखि संकटग्रस्त बन्दै गएको बताउनुभयो । आफुहरुले यस क्षेत्रलाई जोगाउन हरेक सरकारलाई ध्यानाकर्षण गराउँदै आएपनि माग सम्बोधन नभएको भन्दै उहाँले सरकारले सामाजिक सञ्जाल र आमसञ्चारलाई एकै दृष्टिले हेर्ने गरेको बताउनुभयो ।

मूलधारका सञ्चारमाध्यम बलियो हुन नसके राज्यका सबैक्षेत्र प्रभावित हुनेतर्फ ध्यानाकर्षण गराउँदै अलायन्सले सहुलियत ऋण र सामाजिक सञ्जाल नियमनका लागि सुझाव दिएको छ । बैंक, वित्तीय संस्था, बीमा, शैक्षिक संस्थामा लगाइएको विज्ञापन सीमा मूलधारका मिडियाका हकमा हटाउन माग गरिएको छ । यस्तै, कम्पनी धितोमा राखी ३ प्रतिशत दरमा थप १० करोडसम्म सहुलित ऋण उपलब्ध गराउन व्यवसायीले माग गरेका छन् । साथै, अलायन्सले मदिराको विज्ञापन खुल्ला गर्न पनि माग गरेको छ ।

सञ्चारमन्त्री गुरुङले मन्त्रालयको तर्फबाट समस्या समाधानका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो । अन्य मन्त्रालयको हकमा पनि माग सम्बोधनका लागि पनि पहल गर्ने उहाँको आश्वासन थियो । मिडियालाई उद्योगको रुपमा विकास गर्न सरकार प्रतिवद्ध रहको मन्त्री गुरुङले स्पष्ट गर्नुभयो ।