१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


कांग्रेसको मुख्यालय सानेपामा आधुनिक पुस्तकालय


286
Shares

काठमाडौं । नेपाली कांग्रेसको मुख्यालय सानेपामा रहेको पुस्तकालयलाई आधुनिक रुपमा विस्तार गरिएको छ । पुस्तकालले देशको पुरानो पार्टीलाई नयाँ पुस्तासँग जोड्न सक्ला त ? कस्तो छ त पुस्तकालयको तयारी ?

नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलनको पुरानो प्रजातान्त्रिक पार्टी हो । जसले राजनीतिक आन्दोलनदेखि शिक्षाको क्षेत्रको जागरणसम्ममा मनग्गे योगदान दिएकोे छ । यही पुरानो दलले नयाँ पुस्तालाई ज्ञान र शिक्षाको माध्यमबाट जोड्न र पठन संस्कृतिको विकास गर्न पुस्तकालयलाई माध्यम बनाएको छ । यसैलाई लक्ष्य बनाएर नेपाली कांग्रेस केन्द्रिय पुस्तकालयलाई आधुनिक रुपमा विस्तार गरेको छ ।

कांग्रेस महामन्त्री गगन कुमार थापाको नेतृत्वमा हाल करिव १ करोड रुपैयाको लागतमा कांग्रेस मुख्यालय सानेपामा अन्तराष्ट्रिय मापदण्ड अनुसारको पुस्तकालय विस्तार गरिएको छ । यहाँ अहिले १० हजार भन्दा बढी विभिन्न विषयका पुस्तकहरु राखिएको छ । नेपाली कांग्रेसका संस्थापक नेता विपि कोइरालाले अँग्रजीमा लेखेको हस्तलिखित दायरी र अडीयो भ्वाइस समेत यहाँ राखिएको छ भने कांगे्रसका अन्य शिर्ष नेताहरुको जीवनी समेटिएका पुस्तक तथा विभिन्न अन्तराष्ट्रिय व्यक्तित्वरुका पुस्तक पनि यहाँ उपलब्ध छन् ।

पुस्तकालयलाई अध्ययनको स्रोत केन्द्र र पार्टीको इतिहासलाई अभिलेखिकरण गर्ने लक्ष्य सहित विकास गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री थापाले कांग्रेसलाई ज्ञान र वैचारिक छलफलको केन्द्रका रुपमा विकास गर्न पुस्तकालय महत्वपूर्ण हुने दाबी गर्नुभएको छ ।

पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख अजयबाबु शिवाकोटीले पुस्तकालयलाई सबै प्रदेश र जिल्लामा विस्तार गर्ने र पुस्तकालय संभवन नहुने ठाउँमा बुक कर्नर स्थापना गर्ने जानकारी दिनुभयो ।

दैनिक रुपमा यहाँ अध्ययन गर्न आउने पाठकहरुको पनि संख्या बढेको छ । थापाले पुस्तकालयलाई डिजिटलाइजेसन गरेर नियमित रुपमा विभिन्न पुस्तकमाथि छलफल गराएर साहित्य, ज्ञान र विचार संस्कृतिको पनि विकास गर्ने बताउनुभयो ।

निकट भविष्यमा अन्तराष्ट्रिय स्तरको पुस्तकालयसँग केन्द्रिय पुस्तकालयको सम्बन्ध बनाएर ४ करोड ६५ लाख पुस्तकको स्रोतमा पहुँच बनाउन लागेको शिवाकोटीको दावी छ ।

नेपालको पुरानो दलले ज्ञान, विचार र पठन संस्कृतिका लागि पुस्तकालयलाई वैचारिक मन्थनको केन्द्र बनाउनु सकारात्मक नै हो । यसले पार्टीको खस्किंदो छवीलाई युवा पुस्तासंग जोड्न कत्तिको सफल हुन्छ भन्ने चाहीँ महत्वपूर्ण पक्ष हो ।