Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


साधारण सदस्यसमेत नरहने गरी मुकुल ढकाललाई हटायो रास्वपाले


559
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ ।

आज बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।

यसअघि रास्वपाले ढकाललाई साधारण सदस्यबाट किन नहटाउने भनेर दुईपटक स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।

ढकालले भने दुईपटक नै स्पष्टीकरणको जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए र लामिछाने ठग भएको प्रमाणित गर्नसक्ने पत्र रास्वपालाई पठाएका थिए ।

गत असार २५ गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाइ सकेको थियो । ३५ दिनभित्र पुनरावलोकन गर्न समय दिएको भए पनि ढकालको पुरावेदन परेन ।

ढकालले आफू माथिको कारवाही वैधानिक नरहेको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् भने रास्वपा केन्द्रीय समिति अद्यावधिक नगर्न पनि उनले आयोगसँग आग्रह गरेका छन् तर यस बारेमा आयोगको निर्णय आएको छैन ।