काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत भ्रमणका क्रममा पाएको सम्मान र महत्व यति बेला नेपाली राजनीतिक तथा कूटनीतिक क्षेत्रमा चर्चाको विषय बनेको छ । मन्त्री राणाले भारतीय प्रधानमन्त्रीदेखि राष्ट्रिय सुरक्षा सल्लाहकारसम्मलाई भेट्ने अवसर पाउनुलाई नेपाल–भारतबीचको थप सुधारिएको सम्बन्धको रुपमा हेरिएको छ भने कतिपयले मन्त्री राणाको ब्यक्तिगत पहुँचको रुपमा पनि ब्याख्या गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गत महिना बनेको सरकारमा परराष्ट्र मन्त्री बन्नुभएकी आरजु राणा देउवा पहिलो भ्रमणका लागि भारत जानु भएको हो । स्वास्थ्य उपचार समेत गर्ने गरी नयाँदिल्लीको औपचारिक भ्रमणका लागि जानु भएकी राणाले भने नयाँदिल्लीमा भेटघाटको जुन अवसर पाउनुभयो, त्यसबाट नेपाली राजनीति र कूटनीति तरंगित बनेको छ ।
भारतीय नेतृत्वले परराष्ट्रमन्त्री राणाको भ्रमणलाई उच्च प्राथमिकता दिएको देख्दा नेपालसंग भारतको सम्बन्ध थप विस्तार हुने विश्लेषण गरिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरसंगको निमन्त्रणमा जानु भएकी राणाले समकक्षी जयशंकरसँग त दुई पक्षीय भेटवार्ता गर्नु नै भयो, त्यसमाथि प्रधानमन्त्री नरेन्द्र मोदी र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग पनि भेटवार्ताको अवसर पाउनुलाई अर्थपूर्ण हेरिएको छ । आरजु राणा परराष्ट्रमन्त्री मात्रै नभई नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी समेत भएकाले उहाँको भ्रमणले भारतमा उच्च महत्व पाएको परराष्ट्र मामिला जानकार अरुणकुमार सुवेदी बताउनुहुन्छ ।
भारतीय पक्षबाट प्रस्तुत गरिएको सत्कारप्रति नेपाल सरकार भारतप्रति आभारी भए पनि भारतीय प्रधानमन्त्री मोदीलगायतसंगको भेटमा नेपाली प्रतिनिधिमण्डलकै फितलो उपस्थिति भने खड्किएको विश्लेषण पनि कूटनीतिक क्षेत्रमा गरिएको छ । तसर्थ भ्रमणको परिणाम देशका लागि पनि कत्तिको उपलब्धिपूर्ण होला भन्ने अनुमान अहिले नै लगाउन मुश्किल हुने टिप्पणी पनि भईरहेको छ ।
त्यसो त बंगलादेश, माल्दिभ्स, श्रीलंकालगायत दक्षिण एशियाली मुलुकहरुमै भारतको घट्दो प्रभावका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हच्किएर नेपालसंगको सम्बन्ध थप प्रगाढ बनाउन चाहेको पनि विश्लेषण पनि गरिएको छ ।
परराष्ट्रमन्त्री जयशंकरसँगको भेटवार्ताका क्रममा उठाईएका विषयले पनि भारतको व्यवहार नै फेरिएको हो कि भन्ने पनि अनुमान लगाइएको छ । दुई देशीय रेलमार्ग, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटी, नेपालबाट थप विजुली खरिद गर्ने लगायतका विषयमा प्राथमिकतासहित छलफल हुुनुलाई सकारात्मक ठानिएको छ । रोटी बेटीको सम्बन्ध रहेका यी दुई देशबीच परिवर्तित परिवेश अनुसारको व्यवहारिक सम्बन्ध विकासका लागि पनि यस्ता भ्रमणले विश्वासको वातावरण बनाउने विश्वास गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्