काठमाडौं । भजन प्राचिन काल देखिको नेपाली समाजको अभिन्न धार्मिक र संस्कृतिक अंग हो । नेवार समाजमा पनि यसको विशिष्ट महत्व रहेको छ । नेवार समुदायमा समाजका गुरुवर्ग, आमाबुबा र लब्ध प्रतिष्ठित व्यक्ति लगायतको निधनपछि उनीहरुको गुणको बयान गर्दै भजन बनाएर गाउने चलन रहेकोमा त्यो लोप हुने अवस्थामा छ ।
भनिन्छ हुलुमुलमा जिउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु । अहिलेको संस्कारविहीन हँदै गएको समाजमा आफ्नो पुर्खाले छोडेर गएको सांस्कृतिक पहिचानको बिउँ जोगाउन महिलाहरुले शंखघोष गरेका छन् । समुदायलाई उत्तरदायी बनाउने र नैतिक धरातलमा बाध्न प्राचिन कालदेखिको नेपाली समाजमा चलि आएको भजन धार्मिक र सांस्कृतित रुपमा समाजको अभिन्न अगं पनि हो । तर मौलिक सांस्कृतिक विचलन र आधुनिकतासँगै संस्काररहित हुँदै गएको समाजले गर्दा भजन गाउनेमा पनि नकारात्मक असर पुग्न थालेको छ ।
नेवार समाजमा देव देवीको मात्र भजन गाउने होईन, गुरुवर्ग, आमाबुबा र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको जीवनीमा आधारित भजन ‘भजनथली’ गाउने परम्परा प्राय लोप नै भइसकेका छन् । ‘भजनथली’ निधन भएकाहरको गुण र योगदानलाई सम्झेर वर्तमान र भावी पुस्तालाई प्रेरणा दिन विभिन्न मौलिक बाजागाजा बजाएर गाउने गरिन्छ । लोप भइसकेका यही परम्परालाई जोगाउन चःमति भजन खलले ‘भजनथली’ सुर गरेको हो । जसमा महिलाको उल्लेख्य सहभागिता रहेको छ
खलःका संरक्षक पूर्णकाजी ज्यापुले समाजलाई प्रेरणा दिने परम्परा भएकोले यसलाई संरक्षण गर्न दशकौं पछि पुन संचालन गरेको बताउनुहुन्छ । हाल गुरु कान्छाभाई ज्यापुको सम्झनामा ‘भजनथली’ भइरहेको छ । जुन सापारुको दिन देखि आठ दिन सम्म चल्छ । जेष्ठ नागरिक नानी महर्जन भजन, बुढेशकालको सहारा भएको बताउनु हुन्छ । रत्ना डंगोल भजनले समाजलाई एकजुट हुन मदत पुग्ने भएकोले युवाहरु पनि यसमा सहभागी हुनु पर्ने सुझाव दिनुहुन्छ । भजनले मानसिक शान्ति प्राप्त हुने भएकोले अहिले व्यस्त जीवनमा आवश्यक भएको बताउनुहुन्छ जेष्ठ नागरिक विष्णु देवी डंगोल ।
मृतकको गुणहरुलाई सम्झेर भजन नै गाउनु नेवार समाजको उत्कृष्ट मौलिक पहिचान हो जसले वर्तमान र भावी पुस्तालाई पनि प्रेरणा दिनेगर्छ । त्यसैले असल समाज निमार्णका लागि यस्तो भजनहरुको संरक्षण गर्न आवश्यक देखिन्छ । यसले पितृलाई सम्मान र आदर गर्न सिकाएर जीवन जिउने कला पनि सिकाउने गर्छ ।
प्रतिक्रिया दिनुहोस्