Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


हिंसा पीडित महिलाहरुलाई हेर्ने छुट्टै निकाय गठन गर्न सरकारसँग सांसदहरुको माग


26
Shares

काठमाडौं । सांसदहरुले हिंसा पीडित महिलाहरुलाई हेर्ने छुट्टै निकाय गठन गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसकी सांसद जावेदा खातुन जागा, नेकपा (एमाले)की सांसद थममाया थापा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद कल्पना मियाँ कुसारीलगायतका सांसदहरुले सो माग गर्नुभएको हो ।

सरकारको नेतृत्व गरिरहेका एमालेकी सांसद एवं पूर्वमन्त्री थापाले केन्द्र र प्रदेशमा मन्त्रीस्तरको र स्थानीय तहमा पालिका प्रमुखको नेतृत्वको तत्काल संरचना बनाई महिला हिंसालगायतका जघन्य अपराधका घटना रोक्नका लागि प्रभावकारी कदम चाल्न सरकारलाई दबाब दिनुभयो । उहाँले महिलाहरुलाई आर्थिक तथा साामाजिक रुपमा सशक्त बनाउनका लागि आवश्यक पर्ने भएकाले पनि महिलाहरुको अधिकार सुनिश्चित गर्न सरकारले बलियो संरचना बनाएर काम गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

सत्तारुढ नेपाली काँग्रेसकी सांसद खातुनले पनि स्थानीय तहले अधिकार पाएर पनि महिलाहरुको अधिकारको क्षेत्रमा काम गर्न नसक्दा उनीहरुले धेरै पीडा व्यहोर्नुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले महिलाहरुले बलात्कारलगायतका जघन्य अपराधको घटनामा पनि न्याय पाउने अवस्था नभएकाले सरकारले न्यायको प्रत्याभूति हुनेगरी सामाजिक परिचालकहरुको परिचालनको कामलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद कल्पना मियाँ कुसारीले महिला सामाजिक परिचालिका खारेज गर्ने विगतका सरकारको निर्णयप्रति आपत्ति जनाउनुभयो । उहाँले महिलाहरुको समस्या बुझने र सम्बोधन गर्ने खालको निकायको तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

सांसद कुसारीले सरकारले महिलाहरुको अधिकारको बारेमा जिम्मेवार भएर काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।