२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्छौं : मन्त्री पाण्डे


234
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने बताउनुभएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

पर्यटनमन्त्री पाण्डेले सरकारले यस विषयलाई उच्च प्राथमिकता दिएर छलफल गरिरहेको बताउनुभयो । उहाँले हवाई टिकट मूल्यमा एकरुपता ल्याउन सकारात्मक निर्णय हुने पनि विश्वास दिलाउनुभयो । उहाँले पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको गुनासो गर्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताउनुभयो । उहाँले सात वटै प्रदेश लक्षित गरेर सात प्रदेश, सात गन्तव्य कार्यक्रम इको हिल टुरिजम लगायतका कार्यक्रमहरु यस वर्षको बजेटमा समावेश गरिएको जिकिर गर्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सो लगायतका प्रचारप्रसार गर्ने कार्यक्रमहरु कार्यान्वयन गरिएको बताउनुभयो । उहाँले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको र होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा विकास गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

पर्यटन क्षेत्रको दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्व र प्राथमिकता दिएको बताउनुभयो ।