
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले बोर्डभित्रै धेरै गुटबन्दी हुने गरेकाले काम गर्न समस्याहरु रहेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष बरालले यस्तो जानकारी दिनुभएको हो ।
अध्यक्ष बरालले शेयर बजारलाई नियमन र सुपरीवेक्षणको लागि बोर्डको क्षमता कमजोर तथा संस्थाभित्र धेरै गुटबन्दी रहेकाले समस्या देखिएको उल्लेख गर्नुभयो । उहाँले कर्मचारी अभाव र संस्थाभित्रको गुटबन्दीका समस्याहरुका बाबजुत पनि नियमन गर्ने दायित्वबाट बोर्ड पछाडि नहटेको उल्लेख गर्नुभयो ।
अध्यक्ष बरालले कर्मचारीको क्षमता बढाउन, प्राविधिक क्षमता बढाउनेमा बोर्डले चासो नदिएको बताउनुभयो । उहाँले बोर्ड बजारलाई व्यवस्थि र पारदर्शी कारोबार बनाउनको लागि नियमित रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले धितोपत्र बोर्डले ध्यान नदिँदा कम्पनी ऐनले पब्लिक कम्पनी हुन ३ वर्ष र सेबोनको नियमावलीमा २ वर्ष उल्लेख भएको बताउनुभयो ।
अध्यक्ष बरालले लेखा समितिले दिएको पत्रका कारण जलविद्युत कम्पनीको आईपीओ रोकिएको बताउनुभयो । उहाँले लाभांश दिन नसक्ने कम्पनीको मूल्य किन बढिरहेको छ भन्नेमा आफू पनि अन्योलमा रहेको बताउनुभयो ।
अध्यक्ष बरालले बजार बढ्नुको कारण यही हो भनेर भन्नसक्ने अवस्था नभएको बताउनुभयो । उहाँले बजार केही समयको अन्तरमा बढ्ने र घट्ने गरेको भन्दै नयाँ, बलियो सरकार भएर वा राम्रो मौद्रिक नीति भएर बजार बढेको हुनसक्ने उल्लेख गर्नुभयो । उहाँले बोर्डले केही प्राविधिक बिषय बुझ्न परेमा नेप्सेको सहयोग लिनुपर्ने अवस्था रहेको बताउनुभयो ।
अध्यक्ष बरालले हल्लाको पछि दौडिँदा लगानीकर्ताहरू डुब्ने गरेको बताउनुभयो । उहाँले कम्पनीको वित्तीय कारोबार र प्रतिफलमा हुने भएपनि पछिल्लो समय हल्लाले बजार मूल्य निर्धारण भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्