
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदमा समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस गर्न आग्रह गर्नुभएको छ ।
मंगलबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री चौरसियाले संसदमा बिजनेस नरहेको भन्दै समितिमा रहेका विधेयकहरु चाँडो भन्दा चाँडो छलफल गरी संसदमा पेस गर्न समितिसमक्ष आग्रह गर्नुभयो । उहाँले विधेयकहरु संसदमा पठाउन दिनदिनै बैठक राख्न पनि आग्रह गर्नुभयो । उहाँले विचाराधिन विधेयकका विषयहरु टुंग्याउन लगातार बैठक राख्नुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भोलि यसले अन्य जटिलता पनि नआओस् भन्ने मान्यज्युहरुको भावना रहेकाले त्यसमा छलफल सम्बन्धित मन्त्रालयसँग गरेर अघि बढ्दा मन्त्रालय सहमत नै छ । भोलिदेखि लगातार यस समितिमा बैठक बसेर अन्य विषयहरु पनि टुंग्याउने कुराहरु हामीले अघि बढाउनु पर्छ । किनभने संसदभित्र बिजनेस छैन । भोलि केही नेपाल ऐन संशोधनसम्बन्धी बनेको विधेयकमाथि छलफल गरौँ । कतिसम्म सहमति हुन सकिन्छ ।’
मन्त्री चौरसियाले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा छलफल राख्न पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्