काठमाडौं । काठमाडौं उपत्यकाका मूलसडकमै यतिखेर जतातै खाल्डाखुल्डी देखिन थालेका छन् । देशको राजधानी शहरका मूख्य सडकहरुमा ठूलाठूला खाल्डा परेर सवारी चलाउनै मुस्किल हुँदा समेत पोल पोलमा स.वि. लेख्दै हिँड्ने सडक विभाग भने चीर निद्रामा छ ।
यतिखेर राजधानीका भित्री सडकमा मात्रै नभएर मूल सडकमा समेत ठूलाठूला खाल्डाखुल्डीका कारण मानिसलाई आवतजावतदेखि सवारी साधन चलाउन अप्ठ्यारो परेको छ । सडक विभागले चिटिक्क पारेका सडक वर्षा सुुरु नुहँदै भत्किन थालेका छन् । तर सडक डिभिजन काठमाडौका इन्जिनीयर अर्जुन नेपालीले मेलम्चीको पानी लिकेजका कारण सडक भासिँदा खाल्डाखुल्डी बढेको तर्क गर्नुुहुन्छ ।
भित्री सडक निर्माणदेखि मर्मत गर्ने सम्मको जिम्मा महानगरपालिकाको दायित्वभित्र पर्दछ । सडक मर्मतका लागि छलफल भइरहेको काठमाडौ महानगरपालिकाकाले जनाएको छ ।
काठमाडौंको मुटु मानिने स्थानका मूल सडकका ठूलाठूला खाल्डाले महानगरलाई गिज्याइरहेको भान हुन्छ । यहाँ सर्वसाधारणलाई हिँड्नसमेत अप्ठ्यारो भइरहेको छ । यस्तो चल्तीको सडकमा यस्तो दुरावस्था हुँदा समेत विभागले मर्मतका लागि चासो नदिएकोमा बटुवाहरु आक्रोश पोख्छन् । जनताले तिर्ने सडक र सवारी कर वर्षेपिच्छे बढ्दै जाने तर कर तिर्ने नागरिकलाई भने बाटो हिँड्न पनि सास्ती हुँदा उनीहरुले आक्रोश पोख्नु स्वभाविक हो ।
प्रतिक्रिया दिनुहोस्