९ असार २०८२, सोमबार | Tue Jun 24 2025


काभा महिला भलिबलमा आज नेपाल र इरान भिड्दै


1.989k
Shares

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरान भिड्दै छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५.१५ बजे खेल शुरु हुनेछ ।

लिगमा अपराजित रहेको नेपाल त्यसलाई निरन्तरता दिने प्रयासमा छ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेपछि नेपाली महिला टोलीको मनोबल उच्च बनेको छ । उता इरान पनि नेपाललाई स्तब्ध पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लने प्रयासमा छ ।

लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको इरान पनि ५ अंकमा तेस्रो स्थानमा छ । समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा रहेको छ । २ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंक विहीन मालदिभ्स भने अंक तालिकाको अन्तिममा छ । नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा हराएको थियो । शनिबार दोस्रो खेलमा भने भारतलाई ३–१ को सेटमा हराएको थियो ।

इरानले भने शनिबार नै भएको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो । श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो । आज हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्स खेल्नेछन ।