१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


सरकारले चाँडै आन्तरिक रोजगार महाशाखा स्थापना गर्छ : श्रममन्त्री भण्डारी


143
Shares

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित गर्नको लागि आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै श्रममन्त्री भण्डारीले श्रम मन्त्रालय नेपालीलाई विदेश पठाउने मन्त्रालयको रुपमा मात्रै चिनिएको भन्दै आन्तरिक रोजगारीलाई व्यवस्थित र एकीकृत बनाउनको लागि आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताउनुभयो ।

श्रममन्त्री भण्डारीले सरकारले आन्तरिक रोजगार महाशाखा स्थापना गरी आन्तरिक रोजगारीमा भएका सबै सम्भावनालाई एकीकृत गरी एकद्वार प्रणालीले काम गर्न लागेको बताउनुभयो । उहाँले आन्तरिक रोजगार महाशाखा स्थापना गरी आन्तरिक रोजगारका सबै क्षेत्रलाई एक ठाउँमा ल्याएर काम गर्ने बताउनुभयो ।

श्रममन्त्री भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै सबै कार्यक्रमलाई मर्ज गरेर आन्तरिक रोजगार महाशाखाले काम गर्ने बताउनुभयो । उहाँले ५७३ स्थानीय तहका रोजगार सेवा केन्द्रका माध्यमबाट तथ्याङक संकलन गर्ने लक्ष्य बनाएको उल्लेख गर्नुभयो ।

श्रममन्त्री भण्डारीले विदेश जाने श्रमिकले अग्रेजी भाषा अनिवार्य गर्दा सबैतिरबाट बिरोध भएपनि कार्यान्वयन गरेर जाने उल्लेख गर्नुभयो । उहाँले जापान जानेले जापनिज भाषा,कोरिया जानेले कोरियन भाषा पढ्नुपर्ने भएकाले अन्य देश जानेले अंग्रेजी भाषा पढ्ेर जाँदा ठगिने सम्भावना कम हुने बताउनुभयो । उहाँले फ्रि भिसा,फ्रि टिकटमा कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।

श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाँदा श्रमिक लैजानेले कम्पनीले वा श्रमिक आफैँले लागत व्यहोर्नुपर्ने अवस्था रहेकाले फ्रि भिसा,फ्रि टिकट हुन नसक्ने बताउनुभयो । उहाँले अब सरकारले वैदेशिक रोजगारमा जानको लागि एक जना श्रमिकले कति सेवाशुल्क तिर्नुपर्छ भन्ने यकिन लागत तोक्ने गृहकार्यमा लागेको जानकारी दिनुभयो ।