Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


‘वार्षिक २२ लाख कृषकलाई अनुदानमा रासायनिक मल प्राप्त गरेका छन्’


286
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक करिव २२ लाख कृषक परिवारले अनुदानमा रासयनिक मल प्राप्त गर्ने गरेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा करिव १ लाख ५० हजार परिवारले बीमाको प्रिमियममा अनुदान प्राप्त गर्ने बताउनुभयो । उहाँले नेपालमा ४१ लाख ३० हजार कृषक परिवार रहेको बताउनुभयो ।

कृषिमन्त्री अधिकारीले नेपाल सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धनका लागि कृषकहरुलाई संघ, प्रदेश र स्थानीय तहबाट सहुलयित सुविधा, अनुदान र सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

नेपाल सरकारले रासायनिक मलको मूल्यमा, सिंचाईको लागि विद्युत महशुलमा, कृषि तथा पशुपंक्षी बीमा प्रिमियममा, उखु किसानलाई उत्पादनमा, कृषि क्षेत्रमा यान्त्रिकीकरण गर्न मेसिनरी औजारमा, कृषि कर्जाको ब्याजमा, गहुँ, मकैको बीउको मूल्यमा, बिरुवाको मूल्यमा, माछा पोखरी निर्माण जस्ता क्षेत्रमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको जनाउनुभयो ।

मन्त्री अधिकारीले प्रदेश सरकार र स्थानीय तहले आफ्नो आवश्यकताअनुरुप दुधको उत्पादन, निश्चित संख्या भन्दा बढी भेडा, च्याङ्ग्रा, याक पाल्ने कृषकलाई पशुवस्तुको उपचार खर्च बजार मूल्यमा सहुलियत प्रदान गर्दै आएको बताउनुभयो । प्रोत्साहन अनुदान कृषकको खातामै जाने व्यवस्था गरिएको पनि बताउनुभयो ।