Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


मौद्रिक नीति सकारात्मक छ, निजी क्षेत्रको आत्मबल बढाउँछ : अध्यक्ष ढकाल


429
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रसप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा बिस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको धारणा राख्नुभएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात प्रारम्भिक प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीहरुको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गर्नुभयो ।

अध्यक्ष ढकालले बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणहरुको लागि सहजिकरण गर्नु राम्रो पक्ष भएको बताउनुभयो । उहाँले विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको बताउनुभयो ।

अध्यक्ष ढकालले समग्रमा मौद्रिक नीति बैंकहरुको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिएको बताउनुभयो । उहाँले निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष रहेको बताउनुभयो । उहाँले शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको बताउनुभयो ।

अध्यक्ष ढकालले निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर समाधान गर्न मौद्रिक नीतिले सहजिकरण गरेकाले केही हदसम्म भएपनि निजी क्षेत्रको आत्मबल बढ्ने विश्वास रहेको बताउनुभयो । उहाँले मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई थोरै भएपनि सम्बोधन गर्न खोजेको देखिएको उल्लेख गर्नुभयो । उहाँले मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरु सर्कुलरमा त्यही अनुसार आउन आश्वयक रहेको बताउनुभयो ।

अध्यक्ष ढकालले अस्थिर सरकार र नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मौद्रिक नीतिले गरेका व्यवस्थाले थोरै मनोबल माथि उठ्न मद्दत पुग्ने धारणा राख्नुभयो ।