१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


बिचौलियाहरुको पहलमा नयाँ गठबन्धन बन्यो : अध्यक्ष दाहाल


988
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप लगाउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाहरुको पक्षमा काम गर्दा सरकार ढालेको बताउनुभयो । उहाँले युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरुका हक हितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको बताउनुभयो ।

अध्यक्ष दाहालले बिचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गर्दै बिचौलियकै पक्षमा सरकारले काम गर्ने बताउनुभयो । उहाँले पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको बताउनुभयो । उहाँले प्रतिगमनको खतराविरुद्ध पार्टीलाई एकतावद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने कुरामा आफूहरुको मुख्य लक्ष्य रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘जो सरकारमा गएका छन, उनीहरु पराजित मानसिकतामा छन् । उनीहरु रक्षात्मक र हामी आक्रामक ढंगले आफ्ना कुरा राख्ने स्थिति बनेको छ । आम जनताले पनि यो भ्रष्टाचारीलाई सरकारले कारवाही गर्दै गरेर दुई जना पछिल्लो चरणमा गिरफ्तार भएपछि नै यो सरकार बनेको भन्नेकुरा जनताले बुझेको छ । हाम्रो लागि राम्रो आधार बनेको छ, जनतामा जाने । त्यसलाई संगठनमा बदल्नु छ ।’

अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारको कामबाट आम जनतामा निराशा नरहेको जिकिर गर्नुभयो । उहाँले आफू विजयी भएर बेदाग निस्किएको भन्दै ओम्नी, गिरिबन्धु, नक्कली भूटानी शरणार्थी कुनैपनि भ्रष्टाचारका प्रकरणमा आफूहरु नमुछिएको बताउनुभयो । उहाँले पार्टीलाई अझ उचाईमा लैजाने, जनतामा जाने कुरामा संकल्प गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले जनताले संविधानबाट प्राप्त गरेको उपलब्धि उल्ट्याउने खतरा रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीप्रति लक्षित गर्र्दै संविधान मिच्नेको नेतृत्वमा गठबन्धन बनेको बताउनुभयो । उहाँले प्रतिगामी कदमको खतरा अझै रहेको बताउनुभयो । उहाँले सरकारमा जाने सोचमा आफूहरु नरहेको भन्दै अब जनतामा जाने जिकिर गर्नुभयो ।