काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)सहित तीन प्रतिपक्ष दलबीच सिंहदरबारमा छलफल भएको छ ।
शुक्रबार नेकपा (माओवादी केन्द्र)सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)ले छलफल गरेका हुन् ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने र सो बारेमा धारणा बनाउन प्रतिपक्ष दलको बैठक बसेको हो ।
प्रतिपक्षको भूमिका निर्वाह कसरी गर्ने र जनताका आवाज कसरी संसदमा बलियो रुपमा उठाउने भन्नेबारेमा साझा धारणा बनाउन बैठक बसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताउनुभयो । उहाँले बैठकमा प्रतिपक्षको संख्या कमजोर भएकाले साझा एजेण्डा बनाएर जनजीविकाका सवालमा आवाज उठाउनेबारे छलफल भएको बताउनुभयो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (मोओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले बैठकमा आइतबार संसदमा प्रधानमन्त्रीबाट विश्वासको मत लिने कार्यतालिका रहेको र सो विषयमा धारणा बनाउन बैठक बसेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्ष दलहरु संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा धारणा बनाएको पनि बताउनुभयो ।
उपमहासचिव पुनले दुई ठूला दल मिलेको सन्दर्भमा आम जनतामा लोकतन्त्र कमजोर हुने र निरंकुशतातिर जाने एवं प्रतिपक्ष कमजोर हुने आशंका व्यक्त भइरहेको बताउनुभयो । उहाँले एजेण्डा र स्प्रिड र एकताको हिसावले जनताको भावनालाई प्रतिनिधित्व गर्ने समझदारी प्रतिपक्ष दलहरुमा भएको बताउनुभयो । उहाँले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको जिकिर गर्नुभयो । उहाँले सत्तापक्ष निरंकुश बन्ने खतरा रहेको भन्दै प्रतिपक्षले त्यो हुन नदिने बताउनुभयो ।
सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत लिनेकुरामा प्रतिपक्षको धारणा बनाउन बैठक बसेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले अहिलेसम्म दुई दल मिलेर सरकार बनाइसकेपनि दुई दलको साझा कार्यक्रम नआएको बताउनुभयो ।
सांसद पाण्डेले भइरहेको सरकार ढालेर विश्वासको मत मागेपछि दिने वा नदिने भन्नेबारेमा सल्लाह गरिएको बताउनुभयो । बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल,उपाध्यक्ष नारायाण्काजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति लामिछाने, उपसभाति डोलप्रसाद अर्याल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्