
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने बताउनुभएको छ ।
शुक्रबार निमार्ण व्यवसायी महासंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री पौडेलले समस्याको आगो तापेर बस्ने भन्दा पनि सरकार समाधान गरेर जाने पक्षमा रहेको बताउनुभयो । उहाँले निमार्ण व्यवसायीहरुले ४० अर्ब भुक्तानी गर्न बाँकी रहेको भने पनि १५ अर्ब मात्रै बाँकी देखिएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिवहरुसँग छलफल गर्दा १५ अर्ब मात्रै भुक्तानी बाँकी रहेको तथ्यांक आएको बताउनु भयो । उहाँले सम्बन्धित निकायहरूलाई निमार्ण सम्पन्न भएका आयोजनाहरुको भुक्तानी रोक्यो भन्ने नकारात्मक सन्देश तोड्न निर्देशन दिएको बताउनुभयो । उहाँले सम्पन्न भएको आयोजना भुक्तानी नरोकिने बताउनुभयो । अर्थमन्त्री पौडेलले निमार्ण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउने बताउनुभयो ।
भेटका क्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निमार्ण क्षेत्रलाई उत्पादनमुलुक क्षेत्रमा राख्न माग गर्नुभयो । उहाँले त्यसको लागि बैंकहरुलाई अनिवार्य १५ प्रतिशत लगानी गर्ने व्यवस्था गर्ने माग गर्नुभयो । भुक्तानीको समस्या समाधान गर्न रकम रकमान्तर सम्बन्धि मन्त्रालयलाई अधिकार दिनुपर्ने बताउनुभयो । स्रोत सुनिश्चितता नभएका आयोजना अगाडि बढाउन सम्बन्धि मन्त्रालय समन्वय गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष सिंहले भुक्तानी नपाउँदा चेक बाउन्स हुने गरेको भन्दै त्यसलाई सहजिकरण गर्न माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्