२ असार २०८२, सोमबार | Mon Jun 16 2025


कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ : अर्थमन्त्री पुन


156
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पुनले आगामी वर्षको बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताउनुभयो । उहाँले सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पुनले सरकारले २०८१—२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरु फेरिएपनि नीति नफेरिने प्रतिवद्धता जनाउनु भयो । उहाँले नीतिगत स्थायित्व भएमात्रै देश विकास हुने बताउनु भयो । चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भएपनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको बताउनुभयो ।

अर्थमन्त्री पुनले भन्नुभयो, ‘राजनीतिक नेतृत्व फेरिराख्छ, हाम्रो मन्त्रीहरु फेरिन सक्छन्, हाम्रा नीतिहरु फेरिनु हुँदैन । नीतिगत स्थायित्व हुनुपर्छ । कृषि दशकको घोषणा र त्यतातिर प्राथमिकता दिएका छौँ । यसमा केही सरकारको जोड छ । यसमा विगत सरकारका अध्ययन, नीति छन् । भोलिका सरकारले पनि त्यसलाई लिन्छ । ’

अर्थमन्त्री पुनले नेपालले आइटी क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने बताउनुभयो । उहाँले पर्यटन, जलविद्युत क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गरिरहेको बताउनुभयो । पर्यटन क्षेत्रमा यस वर्ष मात्रै २१ प्रतिशतको ग्रोथ रेट रहेको बताउनुभयो । अन्य सबै क्षेत्रमा शिथिलता भएको अवस्थामा पनि पर्यटनमा २१ र जलविद्युत क्षेत्रमा १९ प्रतिशतको वृद्धि रहेको रहेको बताउनुभयो ।