२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


गिरिबन्ध टी स्टेटको फाइल खोल्न गृहमन्त्री लामिछानेलाई कांग्रेसको चुनौति


390
Shares

काठमाडौं । संघीय संसदको चौथो अधिवेशन पनि झिना मसिना कुरामै अल्झिने संभावना बढेको छ । गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको विषयले अवरुद्ध हुदै आएको संसद संसदीय छानविन समिति बनाउने सहमतिसँगै अघि बढे पनि सदनमा कानुन निर्माण र जनजिविका विषयमाथि छलफल हुने भन्दा बजारमा चर्चामा आएका विषयबस्तुमै सांसदहरु रमाउने गरेका छन् ।

२०७९ मंसिर भएको चुनावपछि गठित यस संसदका १६ महिनामा सदनबाट ४ वटा मात्रै विधेयक पारित भएका छन् । जनजीविकाका विषय र तथ्यसहित बहस गर्नुपर्ने संसदमा पछिल्लो समय सांसदहरु जे बोल्दा चर्चित भइन्छ त्यसमा केन्द्रीत हुने गरेका छन् । पछिल्ला दिनहरुमा क्रिकेटर सन्दीप लामिछानेले अमेरीका जाने भीसा नपाएको विषयदेखि एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका मेयर बालेन्द्र शाहबीच चलेको दोहोरी तथा गिरिबन्धु टीस्टेटमा भएको अनियमीता जस्ता विषयमा सांसदहरुले बढी समय खर्चिने गरेका छन् । गत बुधबारको बैठकमा काँग्रेस सांसद शंकर भण्डारीले सन्दीपले भिसा नपाएको विषयमा सरकारसँग जवाफ माग्नुभयो भने बिहीबारको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि सोही विषय उठाउनुभयो ।

यस्तै अर्को चर्चित विषय ओली र बालेनबीचको दोहोरीमा पनि प्रतिपक्ष दलहरुले जोडदार रुपमा उठाउँदै आएका छन् । काँग्रेस सांसद कान्तीका सेजुवालले विहिबार महानगर प्रमुख शाहलाई काम गर्न दिनुपर्ने माग गर्नुभयो ।

यस्तै काँग्रेस महामन्त्री शर्मा र नेता अर्जुन नरसिंह केसीले पनि महानगर प्रमुखको पक्षमा उभिदैँ महानगर प्रमुख शाहले राम्रो काम गरिरहेको तर्क गर्दै संघिय सरकारलाई यसमा नफस्न आग्रह गर्नुभयो । यस्तै अर्को चर्चाको विषय गिरिबन्धु टीस्टेट प्रकरणमा पनि काँग्रेसले एमाले अध्यक्ष ओली र गहृमन्त्री लामिछानेलाई चुनौती दिएको छ । काँग्रेसले गिरिबन्धुको फाइल खोलेर देखाउन मात्रै गृहमन्त्रीलाई चुनौति दिएको छैन बरु अनुसन्धान गरेर दोषी पाइएको कांग्रेसलाई पनि दण्डीत गर्न चुनौती दिएको छ ।

संसदको पहिलो, दोस्रो र तेस्रो अधिवेशन जस्तै यो अधिवेशन पनि कानून निर्माण गर्ने मूल जिम्मेवारी पुरा गर्न असफल हुने त हैन भन्ने आशंका बढेको छ ।