
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी सोचको विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन पार्टीका युवा–विद्यार्थीहरुलाई निर्देशन दिनुभएको छ ।
मुलुकमा विद्यमान केही असन्तुष्टिलाई भडकाउने खालको प्रतिगामी सोचलाई युवा–विद्यार्थीहरुले आक्रामक रुपमा प्रतिवाद गरेर अघि बढनुपर्ने ओलीको भनाई थियो । पार्टी निकट राष्ट्रिय युवा संघ, नेपालले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रतिगामीहरुले गरेका गलत प्रचारको खण्डन हुनेगरी प्रचार अभियानको नेतृत्व लिन पनि पार्टीमा आवद्ध युवा–विद्यार्थीहरुलाई सचेत गराउनुभयो ।
अध्यक्ष ओलीले प्रतिगामी तत्वहरु मुलुकमा फेरि फर्कने सम्भावना नरहेको उल्लेख गर्दैै त्यस्ता खालको गलत प्रचारको पछि कोही पनि लाग्न नहुने बताउनुभयो । उहाँले जिम्मेवार भएर सामाजिक सञ्जालको प्रयोग गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देश गर्नुभयो । जथाभावी ढंगले सामाजिक सञ्जालको प्रयोग गर्न नहुने ओलीले बताउनु भयो ।
अध्यक्ष ओलीले एमाले मिसन–२०८४ को पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने काममा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो । मुलुकलाई संकटबाट जोगाउन पनि एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्ति बनाउनुपर्ने भएकाले आफूहरुले मिसन २०८४ को अभियानलाई अघि बढाएको पनि उहाँले स्मरण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्