काठमाडौं, भदौ २९ । नेपालको यु–१९ क्रिकेट टिमले भारतमा जारी एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ ।
लखनउमा जारी यु–१९ एकदिवसीय क्रिकेट शृंखलाको दोस्रो खेलमा शुक्रबार नेपाललाई भारतको सोही उमेर समूहको ‘ए’ टिमले ८ विकेटले हराएको हो ।
खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएको थियो । नेपालका सन्दीप जोराले ६६ रन जोड्दा तृतराज दासले ४६ रनको योगदान गरे ।
जवाफमा १५७ रनको सामान्य चुनौती भारतीय टोलीले २४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
भारतको जितमा वाइभी राठोदले अविजित ५९ रन तथा प्रभसीरमण सिंहले अविजित ४६ रन जोडे । अनुज रावतले ४७ रनको योगदान गरे ।
यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ । समूहको अन्तिम खेलमा नेपालले अफगानिस्तानको सामना गर्नेछ ।
यसअघि, नेपाल पहिलो खेलमा बिहीबार भारतको यु–१९ ‘बी’ टिमसँग ४० रनले पराजित भएको थियो ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)को आयोजनामा जारी यु–१९ एकदिवसीय क्रिकेट शृंखलामा भारतका दुई तथा नेपाल र अफगानिस्तानका एक/एक गरी चार टिम सहभागी छन् ।








प्रतिक्रिया दिनुहोस्