१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


संविधान बचाउन आवश्यक छ : प्रथम राष्ट्रपति यादव


364
Shares

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानलाई बचाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल पुस्तक विमोचन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रथम राष्ट्रपति यादवले अहिलेको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, संघीयता सहितको र समावेशी तथा समानुपातिक रहेको बताउनुभयो । उहाँले संविधान बचाएर लैजाने सबै नेपालीको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेको कुराप्रति इंगित गर्दै उहाँले संविधान नै सकिने अवस्थाबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान बचाउन ठूलो भुमिका खेलेको बताउनु भयो । संविधानलाई संशोधन गरी समायानुकल बनाउन आवश्यक हुने पनि बताउनुभयो ।

प्रथम राष्ट्रपति यादवले भन्नुभयो, ‘हामीले जुन संविधान लिएर आएका छाँै, त्यो संविधान लोकतान्त्रिक, गणतान्त्रिक छ, संघीयतासहित छ । समावेशी छ । समानुपातिक छ । आज ४५ हजार प्रतिनिधिहरु स्थानीय सरकारमा छन् । सबै समावेशी छन् । सही कुरा हामीले भन्दै जानुपर्छ । जुन संविधान ल्याएका थियौँ, संविधानलाई बचाएर लैजाने हामी नेपालीको जिम्मेवारी हो । त्यसमा बढी जिम्मेवारी माधव नेपालजीको छ । उहाँले यो जिम्मेवारी निर्वाह गर्नुभएको छ । संविधान नै खत्तम हुन थालेको थियो, त्यो संविधान बचाउन ठूलो रिस्क लिएर पाँच पार्टीलाई एक ठाउँमा ल्याएर बचाउनुभयो ।’

प्रथम राष्ट्रपति यादवले आगामी दिनमा पनि झनै राम्रा काम गर्दै अघि बढ्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गर्नुभयो ।