Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै अवरोध हुँदैन : प्रधानमन्त्री दाहाल


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिनाअवरोध प्रस्तुत हुने दाबी गर्नुभएको छ ।

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री दाहालले आज बिहान काँग्रेस नेतृत्वसँग गम्भिरतापूर्वक छलफल गरेको र भोलि बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले काँग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भिरतापूर्वक छलफल गरेको पनि स्पष्ट पार्नुभयो । आइतवार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री दाहालले काँग्रेससँग सोमवार (भोलि) बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘मैले त्यही ढोका खोल्नकै लागि गम्भिरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल भएको छ । अन्तिम निष्कर्षमा नपुगेपनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ ।’

यता, प्रधानमन्त्री दाहालसँगको भेटपछि नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री उपप्रधानमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो ।