२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


‘महालेखापरीक्षकको कार्यालयलाई संघीयता अनुरुप पुनर्संरचना गर्छौं’


104
Shares

काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको कार्यालयलाई संघीय शासन प्रणाली अनुरुप पुनर्संरचना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मंगलबार संसदीय सुनवाई समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक रायाले आफ्नो भावी कार्ययोजना प्रश्तुत गर्दै सो कुरा बताउनुभएको हो ।

रायाले लेखा संपरीक्षणको कामलाई सहज बनाउन, पारदर्शी बनाउन र कम खर्चिलो बनाउन पनि महालेखापरीक्षकको कार्यालय संगठन संघीय ढाँचा अनुरुप अघि बढाउन आवश्यक रहेकाले आफूले सो कामलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले सार्वजनिक लेखा परीक्षणलाई गुणस्तरीय, जवाफदेही र निष्पक्ष बनाई नीतिगत आधारहरु तय गर्ने र लेखा परीक्षणका लागि विद्यमान रणनीतिक योजनाको कार्यान्वयनमा जोड दिने पनि बताउनुभयो ।

वित्तीय अनुशासन पालना गर्न, गराउन सरोकारवाला सबै पक्षसँग अन्तरक्रिया, समन्वय, सहकार्य र सम्बन्ध विस्तार गर्ने, पूर्व महालेखापरीक्षक एवं पूर्व कर्मचारीहरुसँग अनुभवको आदानप्रदान तथा सुधारका विभिन्न पक्षहरुमाथि निरन्तर छलफल चलाउने र प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने पनि प्रस्तावित महालेखापरीक्षक रायाको कार्ययोजना रहेको छ ।

प्रस्तावित महालेखापरीक्षक रायाले गुणस्तरीय लेखापरीक्षण प्रतिवेदन तयार पार्दा पनि विज्ञहरुसँग परामर्श लिएर अघि बढ्ने पनि बताउनुभयो ।