
काठमाडौं । वर्ष २०८० मा भएका विभिन्न प्रदर्शनका कारण राजधानी काठमाडौंको सडक अशान्त बन्यो । कतिपय प्रदर्शनले आर्थिक सामाजिक क्षेत्रमा सुधारका लागि योगदान दिए भने कतिपय राजनीतिक प्रदर्शनले वर्तमान प्रणालीमाथि चुनौति बढ्दै गएको गहिरो सन्देश प्रवाह गरे ।
वर्ष २०८० मा राजधानी काठमाडौंको सदन र सडक निकै तात्यो । सदनमा ठूला राजनीतिक दलको बर्चस्व रह्यो भने सडकमा गाउँघरका गरिब किसान मजदूरदेखि वर्तमान व्यवस्थाप्रति आक्रोस व्यक्त गर्नेको बाहुल्य रह्यो ।
वर्षको सुरु र आखिरीमा पनि नेपालको दूर दराजबाट मिटर व्याज पीडित र लघुवित्त पीडितले लामो पैदल यात्रा गरे भने राजधानीमा पनि सडक प्रदर्शन गरे ।
त्यसक्रममा उनीहरुमाथि भएको दमन व्यवस्थाकै निम्ति व्यंग्य थियो । सडकदेखि सदनसम्म स्थान पाएको लघुबित्त पिडितहरुले नेपालकै इतिहासमै नाम लेखिने गरी सुरक्षा घेरा तोड्दै संसद भवन भित्र प्रवेश गर्दा देशको सुरक्षामाथि गम्भीर प्रश्न उब्जियो ।
यो वर्ष राजधानी काठमाडौं र देशका विभिन्न भागमा वर्तमान राजनीतिक प्रणालीमाथि नै धावा बोल्दै भएका प्रदर्शन पनि उल्लेख्य रहे ।
मेडिकल व्यवासायी दुर्गा प्रसाईंको नेतृत्वमा पटक पटक प्रदर्शन भयो । अराजनीतिक व्यक्तिको राजनीतिक प्रदर्शन स्वाभाविक नलागे पनि यसले राजधानीको सडकमा दशौं हजार जनता उतारेर खुलम्खुला व्यवस्था माथि नै चुनौती दिनु सामान्य थिएन । उनको प्रदर्शनमा पूर्व राजा ज्ञानेन्द्रको सहभागिता वा समर्थन रहे नरहेको नखुले पनि केन्द्रमा भने उनैलाई तानियो ।
कहिले खुला र कहिले सुषुप्त रहँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि यो वर्ष राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र स्थापना र संघियता खारेजीको नारा अंकति ब्यानर बोकेर सडक आन्दोलनमा उत्रियो ।
तुलनात्मकरुपमा शान्तिपूर्ण विरोध जनाउने राप्रपाको यो पटकको प्रदर्शन निषेधित क्षेत्र तोडेर हिंसात्मक बनाउन उद्यत रह्यो भने सरकार पनि नियन्त्रणमा उत्रियो । फलतः वर्षको आखिरीको आन्दोलन निकै चर्को बन्न पुग्यो ।
सहकारी ठगी प्रकरणले पनि यो वर्ष सडक तताउन आगोमा घिउ थप्ने काम गर्यो । सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि यो मुद्दा थप चर्किन पुग्यो ।
वर्षको अन्त्यतिर लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले गरेको राजधानी केन्द्रित प्रदर्शन पनि सडक तताउने अर्को घटना बन्न पुग्यो ।
यो वर्ष नेकपा एमालेले विपक्षमा रहँदा गरेको मध्यपहाडी लोकमार्ग यात्रा लगायतका राजनीतिक अभियान पनि राजनीतिक बृत्तमा निकै चर्चामा रह्यो । यस्तै, नेपाली कांग्रेस र माओवादीले गरेका गाउँ केन्द्रित अभियानहरु पनि चर्चामै रहे ।
यद्यपि व्यवस्थामाथि नै प्रश्न उठाउने गरी भएका प्रदर्शन भने नियमित अभियानभन्दा भिन्न रहे, जसले वर्तमान प्रणालीमाथि चुनौति बढ्दै गएको गहिरो सन्देश प्रवाह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्