२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


मुस्लिम धर्मावलम्बीहरूले मनाए ईद उल फित्र पर्व


182
Shares

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र विश्वभर मनाईएको छ । चन्द्रमा उदाउने समय फरक फरक हुने गर्दा नेपालमा भन्दा एक दिन अगाडि नै साउदी अरबमा ईद मनाइँएको छ । अन्य मुलुकहरुमा चन्द्रमाको उदय भएको भोलीपल्ट मनाइने ईदमा चन्द्रमा नदेखिएको खण्डमा रमजानको ३० औं दिनमा ईद उल फित्र मनाउने चलन छ । मुस्लिम धर्माबलम्बीहरुको निकै नै कठोर ब्रतको रुपमा रहेको रमजानको एक महिना पछि मनाइने ईदको उल्लास काठमाडौंमा पनि देखिएको छ ।

आपसी सदभाव भाइचाराको हेतुले मनाईने ईद पर्वको विश्वभर रौनक छाएको छ । इस्लामिक पात्रो अनुसार मनाइने सबैभन्दा महत्वपूर्ण पर्वमध्ये एक हो ईद । महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइने यस ईद उल फित्रमा आफ्ना परिवार, आफन्तजन, साथीभाई र इष्टमित्रसँग माया साटेर मनाईने गरिन्छ । त्यसो त ईदमा आपसी मनमुटाव र वर्षभरीको रिस राग समेत बिर्सेर मनाइने यस पर्वमा जो कोहीले पनि एक अर्कालाई अँगालो मारेर सद्भाव साटेर भन्ने गरिन्छ ईद मुबारक ।

पर्वको दिनको आरम्भमा धेरैजसो मुस्लिमहरू आफ्नो मस्जिदमा हुने ईदको प्रार्थनामा सहभागी हुने गरेकाले विश्वभरमा मस्जिदहरुमा मुस्लिम धर्मावलम्बिहरुको घुँइचो लाग्ने गरेको छ । नयाँ कपडामा सज्जिएका यी धर्माबलम्बीहरुले जकात अल–फित्र अन्तर्गत अनिर्वाय दान दिनुपर्ने प्रचलन रही आएको छ । रमजान महिनाको आरम्भमा जस्तै ईदको आरम्भ चन्द्रमा उदाएको भोलीपल्ट मनाउने गरिएकोमा चन्द्रमा नदेखिएमा रमजानको पूरा ३० दिन व्यतीत भएपछि ईद मनाउने प्रचलन पनि रहि आएको छ ।

ईदको मुख्य दिन अघि पर्ने रमजान महिनाभरि व्रत बस्दा इस्लामको पवित्र ग्रन्थ कुरानका आयात अर्थात श्लोकहरू पैगम्बर मुहम्मद मार्फत नाजिल अर्थात अवतरित गरिएको मुस्लिम समुदायमा विश्वास रहेको छ । व्रत बस्ने कार्यलाई पनि ईश्वरको आराधना गर्ने एक कार्यका रूपमा पनि लिइएको छ । जसले मुस्लिमहरूलाई ईश्वरको नजिक पुगेको अनुभूति गराउँछ र तिनीहरूको आध्यात्मिक स्वास्थ्य र आत्म–अनुशासनलाई बलियो बनाउने विश्वास गरिन्छ ।