
काठमाडौं, असार ५ । घर तथा जग्गा व्यवसायी, यससँग संलग्न अरु संघ–संस्था र उपभोक्तालाई एकै ठाउँमा ल्याइ यस क्षेत्रको बजार प्रवद्र्धन र जानकारी प्रदान गर्ने उद्देश्यले राजधानीमा शुक्रबारदेखि गरिएको सातौं घरजग्गा मेला उत्साहजनकरुपमा सम्पन्न भएको जनाइएको छ ।
नेपाल जग्गा तथा आवास विकास संघले वर्षेनि गर्दै आएको यस्तो मेलाको सातौं संस्करण मंगलबार उत्साहजनकरुपमा सम्पन्न भएको संघले जनाएको हो ।
मेलाको ४५ हजार बढीले अवलोकन गरेको र घर तथा अपार्टमेन्ट करिब १०० ओटा बराबर बिक्री भएको संघले जनाएको छ ।
मेलाका अवसरमा संघ, सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको संयुक्त आयोजनमा ‘हाउजिङ समिट’समेत आयोजना गरिएको थियो ।
संघका महासचिव मीनमान श्रेष्ठले अव्यवस्थित तरिकाले भवन निर्माण भएपनि सरकारले अनुगमन नगरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको उल्लेख गरे ।
मेलामा भूकम्पप्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकाससम्बन्धी लगानीकर्ता, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सलट्यान्टका साथै बैंक तथा बिमा कम्पनीहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्