२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


निजी क्षेत्रले उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्छ : मन्त्री यादव


0
Shares

काठमाडौं, भदौ २८ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निजी क्षेत्रले औद्योगिक लगानी र उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् ।

औद्योगिक क्षेत्रको लगानी स्वदेशी उत्पादनमा लगाइ व्यापार घाटा कम गर्नका लागि सबैले ध्यान दिनुपर्ने उनले बताए ।

उपभोक्ता संरक्षणसम्बन्धी कानुन संशोधनका सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार राजधानीमा संयुक्तरुपमा गरेको कार्यक्रममा मन्त्री यादवले व्यवस्थित बजारका लागि सहयोग गर्न आग्रह गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिसचिव चन्द्रकुमार घिमिरेले वर्तमान ऐनले उपभोक्ताको स्वास्थ्य हितलाई ध्यान दिएकाले मौलिक हकको प्रत्याभूति गराएको र उपभोक्ताको संरक्षणमा ध्यान दिएको बताए ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले वस्तुको गुणस्तर परीक्षण गर्ने र प्रतिस्पर्धी बजारको विकासमा सहयोग गर्ने दाबी उनले गरे ।

कार्यक्रममा उद्योगी तथा व्यापारीहरुले उपभोक्ता संरक्षण ऐनमा रहेको दन्ड र जरिवानाको विषय आफूहरुलाई मान्य नभएको, उद्योग दर्ता र नवीकरणलाई व्यवस्थित गर्नुपर्ने र सबै उद्योगहरुले मूल्यसूची राख्नुपर्ने कुरा मान्य नहुने बताएका थिए ।

ऐनले वस्तुको गुणस्तरीयतालाईभन्दा पनि व्यापारीहरुलाई बाँध्न खोजेको उद्योगीहरुको आरोप थियो ।